शरद रेग्मी
दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत महशुल तिरिदिने भएको छ । पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा उक्त कुरा समावेश गरेको छ । आगामी आर्थिक बर्ष २०८२र०८३ मा पालिकाबासीको न्यूनतम विद्युत महशुल तिरिदिने भएको हो ।
पालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत महशुल पालिकाले तिरिदिने निर्णय गरेको हो । यसले पालिकाबासीलाई सहुलियत दिने उहाको भनाई छ ।“पालिका बासीको मागका आधारमा यो नीति ल्याएका हौं”, सुरुमा २५ लाख रुपैया बिधुत प्राधिकरणको नाममा बिनियोजन भैसकेको छ अध्यक्ष बस्नेतले भन्नुभयो “यसले दुर दराजका बासिन्दालाई सहज बनाउनेछ ।”
यो निर्णय लुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम भएको समेत उनले बताए । ‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियान स्वरुप उक्त नीति ल्याएको उनले बताउनु भयो ।
शान्तिनगर गाउँपालिका भित्रका सम्पूर्ण ग्राहकको न्यून्तम शुल्क गाउँपालिका मार्फत नेपाल विद्युत प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ । यसले सबै नागरिकको उर्जामा पहुँच पुग्ने अपेक्षा लिईएको अध्यक्ष बस्नेतले बताउनु भयो ।
त्यस्तै पालिकाभित्रका चिकित्सा शास्त्र र डाक्टर तथा पाईलट अध्ययन गर्ने विद्यार्थीहरुलाई निश्चित मापदण्डको आधारमा प्रोत्साहन रकम उपलब्ध गराईने, खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण वृद्धि गर्न राष्ट्रिय खेलाडीको रुपमा छनौट हुनेलाई प्रोत्साहन रकम उपलब्ध गराउने गरि बजेट बिनियोजन गरेको छ ।