जनार्दनले मागे अध्यक्ष प्रचण्डको राजीनामा

Spread the love

काठमाडौं, ३१ भदौ। जेनजी आन्दोलनपछि पुराना पार्टी र नेतृत्वको औचित्यमाथि प्रश्न उठिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन्।

शर्माले जेनजी आन्दोलनले दिएको सन्देशलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै अब पार्टीमा नयाँ नेतृत्व आवश्यक भएको धारणा राखेका छन्। उनका अनुसार आन्दोलनले भ्रष्टाचार र थिग्रिएको राजनीतिक संस्कृतिमाथि प्रहार गरेको छ, त्यसैले तत्काल नेतृत्व परिवर्तन हुनुपर्छ। यस विषयमा उनले पार्टी पंक्तिमा छलफल सुरु गरेका छन्। छलफलमा सहभागी कार्यकर्तामार्फत् शर्माको भनाइ उद्धृत गरिएको छ कि “पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।”

शर्माले पार्टी शीर्ष नेताहरुको कार्यशैली र जीवनशैलीमाथि पनि प्रश्न उठाउँदै जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली उजागर गरेको बताएका छन्। साथै, आगामी निर्वाचनलाई सहज बनाउन वर्तमान सरकारलाई सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। यसअघि पनि उनले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गर्दै आएका छन्। गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा समेत उनले प्रचण्डमाथि प्रश्न उठाएका थिए, तर त्यसलाई अस्वीकृत गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *