गोकर्ण पौडेल, तुलसीपुर
१५ असारर दाङ जिल्लामा पाइने सिम्ठारो, अनदी, तिल्कीजस्ता रैथाने जातका धान जोगाउन मुस्किल पर्न थालेको छ। कम उत्पादन हुने रैथाने धानको सट्टा किसानहरू हाइब्रिड जाततर्फ आकर्षित हुन थालेका छन्। थोरै जमिनमै धेरै उत्पादन हुने भएकाले किसानहरूको ध्यान हाइब्रिड धानमा जान थालेको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का किसान तोयाराम बस्नेतले विगतमा तिल्की, सिम्ठारो, झिनुवा, अनदी जस्ता धान लगाउने गरे पनि अहिले परिवार ठूलो भएका कारण उत्पादन नपुगेर हाइब्रिड धान लगाउन थालेको बताए।
स्थानीय तथा प्रदेश सरकारले रैथाने धानको संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि ती कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार विगतमा किसानहरूलाई बीउ र खेत भाडाको व्यवस्था गरिए पनि यस वर्ष भने कुनै कार्यक्रम सञ्चालनमा नरहेको जानकारी दिए।

तथापि केही सहकारी र संस्थाहरू भने रैथाने धानको प्रवर्धनमा सक्रिय देखिन्छन्। तुलसीपुर–१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले खेत भाडामा लिएर रैथाने तिल्की धानको खेती गर्दै आएको छ। संस्थाका अध्यक्ष लक्ष्मी चौधरीका अनुसार संस्थाले वार्षिक ५५ क्विन्टल धान उत्पादन गर्दै आएको छ। बजारमा तिल्की चामलको मूल्य प्रतिक्विन्टल १८ हजार रुपैयाँसम्म रहे पनि सहकारीमार्फत १६ हजारमै बिक्री भइरहेको जानकारी दिए।
यस्तै, पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले सिम्ठारो धानको प्रवर्धनका लागि ‘बीउ पैचो कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए। सो कार्यक्रमअन्तर्गत ३० जना किसानले बीउ लिएर खेती गरेका छन्। तुलसीपुर–११ हस्नापुरका किसान बलदेव आचार्यले गत वर्ष सोही कार्यक्रममार्फत १० मुरी सिम्ठारो धान उत्पादन गरेको बताए।
किसान दुर्गाबहादुर खत्रीका अनुसार, रैथाने धान बालीमा हाइब्रिड धानजस्तो मल र पानीको अत्यधिक आवश्यकता पर्दैन। उत्पादन कम भए पनि बजार मूल्य भने हाइब्रिड धानभन्दा बढी हुने गरेको उनले बताए।

रैथाने धानको संरक्षण र प्रवर्धनमा अझ प्रभावकारी नीति तथा दीर्घकालीन योजना नल्याए निकट भविष्यमा यी धानका जात लोप हुने चिन्ता बढेको छ।