बीबीसी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाल स्ट्रीट जर्नलको मूल कम्पनी डाव जोन्स तथा त्यसका मालिक रुपर्ट मर्डोकविरुद्ध १० अर्ब डलरको मुद्दा हालेका छन्। ट्रम्पले यौन कसुर लागेका जेफ्री एप्स्टिनलाई यौनको विषयमा हँसिमजाक गरेर लेखिएको ’अश्लील’ नोट पठाएको दाबी गरिएको समाचार प्रकाशन गरेकाले उनले सो मुद्दा हालेका हुन्।
सो प्रकाशनले सन् २००३ मा ट्रम्पको नाम उल्लेख भएको जन्मदिनको शुभकामना नोट हाल दिवङ्गत एप्स्टिनलाई पठाइएको भनेर उल्लिखित लेख प्रकाशन गरेर आफ्नो बदनामी गरेको र मानहानिको कानुन उल्लङ्घन गरेको ट्रम्पले भनेका छन्। एप्स्टिनलाई पछि यौन कसुरमा अभियोग लगाइएको थियो।
पत्रिकाले उक्त नोट ट्रम्पले एप्स्टिनको ५०औँ जन्मदिनमा पठाएको भनेको छ तर ट्रम्पले उक्त नोटलाई ’झुटा’ भनेका छन्। अमेरिकी न्यायमन्त्रालयले एक न्यायाधीशलाई एप्स्टिनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न अनुरोध गरेको बेला यो पछिल्लो घटनाक्रम विकसित भएको छ। यो मामिलाको व्यवस्थापनलाई लिएर ट्रम्प प्रशासनको चर्को आलोचना भइरहेको थियो।
ट्रम्पको गम्भीर आरोप
सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्ः “थोत्रो कपडा सरह भइसकेको द वाल स्ट्रीट जर्नलमा गलत, द्वेषपूर्ण, बेइज्जतीपूर्ण, झुटा समाचार ’आर्टिकल’ छाप्ने कार्यमा सामेल सबैका विरुद्ध हामीले भर्खरै शक्तिशाली मुद्दा हालेका छौँ।“
“मेरो आशा छ रुपर्ट र उनका ’मित्रहरू’ यो मामिलामा दिनु पर्ने घण्टौँ लामा बयानका लागि तयार होलान्,“ उनले ब्यङ्ग्य गर्दै लेखेका छन्। उनले उक्त पत्रिका र मर्डोकलाई त्यस्तो लेख छापेको खण्डमा मुद्दा हालिने भनेर पहिले नै चेतावनी दिइएको बताएका छन्। मर्डोकसँग ट्रम्पको दशकौँ पुरानो उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ।
डाव जोन्सका एकजना प्रवक्ताले बीबीसीलाई पठाएको विज्ञप्तिमा भनेका छन्ः “हाम्रो रिपोर्टिङमा अपनाइएको सावधानी र सत्यताप्रति हाम्रो पूर्ण विश्वास छ, र हामी कुनै पनि मुद्दाविरुद्ध जोडदार प्रतिरक्षामा उत्रने छौँ।“
पछिल्लो पटक गत आईतवार फिफा क्लब वल्र्ड कप समारोहमा ट्रम्पसँगै मर्डोक उपस्थित थिए। मर्डोकले स्थापना गरेको सञ्चार साम्राज्यलाई ट्रम्पलाई ह्वाइट हाउसमा पु¥याउन सघाएको श्रेयसमेत कतिपयले दिने गरेका छन्।
घटना के हो
वाल स्ट्रीट जर्नलका अनुसार ट्रम्पको नाम भएको एक पत्रमा “हेभी मार्करबाट हातैले बनाएको जस्तो देखिने नग्न महिलाको रेखाचित्रभित्र टाइप गरेर लेखिएका कैयन् लाइन छन्।“ “नग्न महिलाको रेखाचित्रभित्र ट्रम्प र एप्स्टिनबीच भएको काल्पनिक संवादको स्वरूपमा तेस्रो व्यक्ति शैलीमा टाइप गरिएको नोट रहेको छ,“ पत्रिकामा लेखिएको छ।
त्यसमा ’रहस्यहरू कहिले पुरानो नहुने’ सन्दर्भको ठट्टा गरिएको विषय रहेको र नोटको अन्त्यमा “मित्र भनेको गजबको चिज हो। शुभ जन्मदिन – प्रत्येक दिन गजबको रहस्य होस्“ भनेर लेखिएको बताइएको छ।
ट्रम्पले त्यसबारे बिहीवार पत्रिकामा प्रकाशित भएपछि सो नोट आफूले लेखेको अस्वीकार गरेका छन्। उनले भनेका छन्ः “ती मेरा शब्द होइनन्। मेरो कुरा गर्ने तरिका त्यस्तो छैन। अनि, म चित्र पनि बनाउँदिन।“








