आगामी सोमवार टरिगाउँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए
अमरराज आचार्य
दाङ, १४ चैत । बन्द भएको करिब साढे तीन महिनापछि जिल्लामा हवाई सेवा सुरु हुने भएको छ । गत पुस २ गतेदेखि बन्द भएको हवाई सेवा चैत १८ गते सोमवारबाट सुरु हुने भएको हो ।
आगामी सोमवार टरिगाउँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । सुनारका अनुसार निगमका विमानको इन्जिनमा समस्या आएपछि नियमति सेवा दिन नसकेको उनले बताए । विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको उनको भनाइ छ ।
‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान नियमित हुन्छ’, इन्चार्ज सुनारले भने । कार्यतालिका आएपछि साताको कुन बार उडान भर्ने भन्ने जानकारी भन्दै इन्चार्ज सुनारले चैत महिनामा साताको दुई दिन विमानले उडान भर्ने बताए । वैशाख महिनादेखि यात्रु सङ्ख्या अनुसार हप्ताको ४ दिनसम्म विमानले उडान भर्ने उनको भनाइ छ । यात्रुको सङ्ख्याका आधारमा जहाज आउने इन्चार्ज सुनार बताउँछन् । ‘हामी यात्रुको खोजीमा छौँ, यात्रु सङख्या बढेमा विमानमा आउने दिन बढनेछ’, उनले भने । विमानमा आए पनि यात्रु नहुदा समस्या हुने गरेको उनको भनाइ छ । ‘यस अघि विमानमा आए पनि यात्रु नहने समस्या हुदै आएको थियो तर हप्ताको दुई दिन विमान आउने गरेको थियो’, उनले भने ।
तीन महिनादेखि विमान सेवा बन्द हुँदा पनि यसतर्फ कसैको ध्यान पुग्न सकेन । नियमित उडान हुनुपर्ने भए तापनि भएको उडान बन्द हुने सञ्चालन हुने हुँदै आएको छ । नेपाल वायु सेवा निगमको जहाज गत पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाईन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । जिल्लाको एक मात्र टरिगाउँ विमानस्थलमा विमान आउन छाडेसँगै हवाई सेवा बन्द भएको हो ।
उडान बन्द भएसँगै जिल्लाबासीले हवार्ई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । यहाँका नागरिकले हप्तामा दुई दिन हवार्ई सेवा पाउँदै आएका थिए । त्यसपछि हप्ताको एक दिन मात्र विमान आउने गरेको थियो । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान भर्दै आएको थियो । तीन महिनादेखि पूर्णरूपमा उडान बन्द रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलको धावनमार्ग सात सय ५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ । सात सय ५० मिटर धावनमार्ग मात्रै कालोपत्रे गरिएकाले साना विमान मात्रै अवतरण गर्न सक्छन् । गत वर्ष मात्रै एक करोड खर्चेरे नयाँ टावर निर्माण गरिएको थियो । अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्याङ्कर ल्याइएको थियो । २०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आएको छ । तर यसले सार्थकता पाउन भने सकेको छैन । लुम्बिनी प्रदेशको राजधानी दाङको यो एक मात्र विमानस्थल हो ।
यहाँ नियमित तथा ठुला विमान अवतरण गर्न नसक्दा नेपालगन्ज वा भैरहवा अवतरण गरी मात्रै दाङ आउनुपर्ने बाध्यता छ । पछिल्लो समय गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि तुलसीपुर आउँदा टरिगाउँ एरपोर्टको विस्तार तथा तुलसीपुर–घोराही सडक खण्ड चार लेन बनाउने कुरा प्रमुख रूपमा उठाएका थिए । वर्षौंदेखि हरेक चुनावमा उम्मेदवारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाउँ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यसअनुरूप काम भने हुन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिएको बताइन् । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठुला जहाजका लागि एक हजार दुई सय ५० देखि एक हजार पाँच सय ५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख छ ।
धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारका लागि सँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको छ । यसअघि तुलसीपुरमा रहेको एरपोर्टको धावन मार्ग विस्तार गर्ने नागरिक स्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । यसमा अन्य उद्योग वाणिज्य संघले सहयोग गरेका थिए । सरकारलाई दबाब दिन खुत्रुके अभियान सञ्चालन गरिएको थियो ।