ओमप्रकाश गुप्ता,दाङ १२ असार । दाङमा २३ जना भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ। भूमि सम्बन्धि समस्या समाधान आयोगले जिल्लामा पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । लमही नगरपालिका – ३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कठ्ठासम्मको बसोवासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् ।
तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो । गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी, सरीता चौधरी, हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । सम्बोधन गर्दै अध्यक्ष रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।