दाङमा ७१ हजार बढी स्वास्थ्य बिमामा सहभागी

Spread the love

तुलसीपुर, ३१ असार । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । बिमा गरे पनि विभिन्न कारणले सहज स्वास्थ्य सेवा पाउन नसक्दा बिमा कार्यक्रमप्रति नागरिकको भरोसा उठ्दै गएको छ ।

स्वास्थ्य बिमा गराए पनि भनेको समयमा उपचार सेवा पाउन नसकेको नागरिकको गुनासो छ । स्वास्थ्य बिमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चितता गर्ने उद्देश्यले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात गरेको थियो । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले कार्यक्रम ल्याएको थियो ।

स्वास्थ्य बिमा कार्यक्रम दाङमा ०७७ माघ ३० गतेदेखि शुभारम्भ भई ०७८ जेठ १ गतेदेखि कार्यक्रम लागु भएको थियो । आर्थिक अभावमा कोही पनि नागरिक स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दाङमा विगत केही वर्षदेखि सुरु भए पनि त्यसको प्रभावकारिता भने हुन सकेको छैन ।

जिल्लाका दुईवटा उपमहानगरनगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिकाको ६ लाख ७६ हजार जनसङ्ख्यामध्ये ७१ हजार सात सय १८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् । जनसङ्ख्याको हिसाबले स्वास्थ्य बिमा कार्यक्रममा धेरै समेटिन सकेका छैनन् ।

घोराही उपमहानगरमा सबैभन्दा धेरै ३७ हजार दुई सय ८ जना, तुलसीपुर उपमहानगरमा १६ हजार चार सय ६७ जना, लमही नगरपालिकामा चार हजार एक सय ९९ जना, बबईमा दुई हजार नौ जना, बंगलाचुलीमा एक हजार चार सय ३१ जना, दंगीशरणमा एक हजार आठ सय १३, गढवामा दुई हजार छ सय ३३ जना, राजपुर गाउँपालिकामा एक हजार ३६ जना, राप्ती गाउँपालिकामा तीन हजार दुई सय ६९ जना र शान्तिनगर गाउँपालिकामा एक हजार छ सय ५३ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएको स्वास्थ्य बिमा बोर्ड घोराहीले जनाएका छ ।

जिल्लामा लक्षित वर्गहरू महिला स्वयम्सेविका दुई हजार ७२, ज्येष्ठ नागरिक १७ हजार छ सय ५६, एचआइभि परिवारद्वारा तीन सय ९७, लेप्रोसिद्वारा चार, पूर्णअपाङ्ग ‘क’ वर्गको रातो कार्ड परिवारद्वारा एक हजार नौ सय ३५ र एमडिआर टिभी परिवारद्वारा स्वाथ्य बिमामा आबद्ध जनसङ्ख्या १८ जना छन् ।
स्वास्थ्य बिमाको सेवा अब एक महिनामै

यसैबिच स्वास्थ्य बिमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ । सरकारले स्वास्थ्य बिमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बिमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बिमा सेवा–सुविधा लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नयाँ व्यवस्था अनुसार बिमितले बिमा गरेको एक महिनाभित्रै सेवा लिन सक्नेछन् । बोर्डले आउँदो १ साउनदेखि लागु हुने गरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि बिमा आबद्ध भएका नागरिकले सेवा लिनका लागि चार महिनासम्म कुर्नुपर्ने अवस्था थियो । बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बताए ।

‘पहिला वर्षको चार साइकलमा सेवा सुरु हुने गरेको थियो । वैशाख, जेठमा बिमित भएकाले भदौबाट मात्रै सेवा पाउँथे । साउन, भदौ भएकाले मङ्सिरबाट सेवा पाउँथे’, मल्लले स्पष्ट पार्दै भने, ‘बिमित भएको तीन–चार महिनापछि मात्रै सेवा पाउँथे तर अहिलेको नयाँ व्यवस्था अनुसार १२ साइकलमा कार्यक्रम सुरु हुँदैछ ।’

यसले महिना दिनकै अन्तरमा उपचार लिन सक्नेछन् । बिमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनालाई पहिलो महिना मानिनेछ । त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाटै बिमाले प्रदान गर्ने सेवा तथा सुविधा प्राप्त गर्न सकिनेछ । यो नियम १ साउन २०८२ देखि लागु हुनेछ ।

बोर्डले जारी गरेको सूचनामा ‘जुन महिना बिमामा दर्ता भएको हो, सो महिनालाई पहिलो महिना मानी सो पश्चात्को तेस्रो महिनाको १ गतेदेखि नै बिमितको सेवा–सुविधा लागु हुनेछ’, भनिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *