सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा १८।३ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक भयो।
जेनजी आन्दोलनका कारण पर्यटकको संख्यामा गिरावट आएको र यसले नेपाल सुरक्षित छैनु भन्ने सन्देश गएको बताइएको छ।
दक्षिण एसिया, पूर्वी एसिया र युरोपबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ, तर सरकारले सुरक्षित रहेको सन्देश दिन प्रयास गरेको छ।
काठमाडौँ । शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको तथ्यांक छ ।
गत वर्षको यही महिनामा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए, अर्थात् अघिल्लो वर्षको यही महिनामा भित्रिएका पर्यटकको तथ्यांकमा यो १८ दशमलव ३ प्रतिशतले कम हो ।
सेप्टेम्बरलाई नेपालमा विदेशी पर्यटक भित्रिने प्रमुख महिना मानिन्छ । तर पिक सिजनमै पर्यटकको संख्यामा उल्लेख्य कमी आएको देखियो । जसको मुख्य कारण भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नै लिइएको छ । उक्त आन्दोलन देशभर चल्यो, निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भए ।
‘नेपालको जेनजी मुभमेन्टलाई भारतीय मिडियाले धेरै नै नकारात्मक ढंगले प्रचार गरेको देखियो, त्यसैले भारतबाट आउने पर्यटक ह्वात्तै घट्यो,’ थपलिया भन्छन्, ‘युरोप अमेरिकाकी मुलुकमा पनि सुरुमा नकारात्मक सन्देश गयो, त्यसपछि मिडियाले कभरेज गर्नै छोडे, अहिले पनि नेगेटिभ म्यासेज कायमै रहन गयो, यसले गर्दा संख्या घटेको देखिन्छ ।’
सेप्टेम्बरको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै पर्यटकको गिरावट दक्षिण एसिया, पूर्वी एसिया र अफ्रिकाबाट भएको देखिन्छ । ती क्षेत्रबाट औसतभन्दा धेरै प्रतिशतले पर्यटक संख्यामा गिरावट आएको देखिन्छ ।
सेप्टेम्बरमा आएका ७८ हजारभन्दा बढीमध्ये दक्षिण एसिया क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका छन्, जबकि सन् २०२४ को यही महिनामा ३३ हजार ६११ जना नेपाल आएका थिए । यो भनेको २७ दशमलव ७ प्रतिशतले गिरावट हो ।
एसियाका अन्य क्षेत्रबाट सन् २०२५ मा १२ हजार ५९० पर्यटक भित्रिए, जुन सन् २०२४ को सेप्टेम्बरको तुलनामा ३३ दशमलव ७ प्रतिशत कम हो ।
उता अमेरिका, युरोप र मध्यपूर्वबाट आउने पर्यटकको संख्या घटे पनि यो दर औसतभन्दा कम छ । सेप्टेम्बरमा यो वर्ष अमेरिकाबाट ११ हजार ५२३ पर्यटक आए । जबकि सन् २०२४ मा १२ हजार १४९ पर्यटक आएका थिए । जुन ५ दशमलव २ प्रतिशतले कम हो ।








