पत्रकार ५ हजारमा बिक्छन भनेपछि हंगामा

Spread the love

पत्रकार संगठनहरूको कडा आपत्ति

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको सरगर्मी बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का एक नेताको विवादास्पद अभिव्यक्तिले राजनीतिक र सञ्चार क्षेत्रमा खैलाबैला मच्चिएको छ। सिद्धार्थनगर–७ निवासी रास्वपाका उम्मेदवार आकांक्षी पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यमविरुद्ध दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको हो।

केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले पत्रकारिता क्षेत्रमाथि गम्भीर आक्षेप लगाएका थिए। उनले भने, “हामीलाई स्थानीय वा कुनै पनि मिडियाको आवश्यकता छैन। समाचार पढ्दा हाँसो उठ्छ। सबै पत्रकार ५ हजारमा बिक्छन्।” यो अभिव्यक्ति सार्वजनिक भएसँगै पत्रकार र सञ्चारकर्मीहरूले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हमला र लोकतान्त्रिक मूल्यमान्यताको अपमानको रूपमा लिएका छन्।

पत्रकार संगठनहरूको कडा आपत्ति

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, लुम्बिनी प्रेस क्लब, नेपाल प्रेस युनियन रुपन्देही, प्रेस चौतारी नेपाललगायतका संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै उपाध्यायको अभिव्यक्तिलाई तथ्यहीन, आधारहीन र अमर्यादित ठहर गरेका छन्। वक्तव्यमा यो टिप्पणीले समग्र पत्रकारिता पेशाको मर्यादा, विश्वसनीयता र श्रमजीवी पत्रकारहरूको इमानदारीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव प्रसाद शर्मा, रुपन्देही शाखा कोषाध्यक्ष जरेश केसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपाल र प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डेले हस्ताक्षर गरेको वक्तव्यमा उपाध्यायले तत्काल आफ्नो गलत अभिव्यक्ति फिर्ता लिई सार्वजनिक माफी माग्नुपर्ने माग गरिएको छ। साथै, रास्वपासँग उपाध्यायमाथि अनुसन्धान गरी कडा कारबाही गर्न आग्रह गरिएको छ।

राजनीतिक असरको आकलन

उपाध्यायको यो अभिव्यक्ति चुनावी माहौलमा आएकाले यसले रास्वपाको छविमा नकारात्मक असर पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ। “यस्ता टिप्पणीले मतदाता र आम नागरिकमा पार्टीप्रतिको विश्वास कमजोर हुन सक्छ,” एक विश्लेषकले भने। “विशेषगरी प्रेस स्वतन्त्रताको सम्मान गर्ने मतदाताहरू रास्वपाप्रति असन्तुष्ट हुन सक्छन्।” विगतमा पनि विभिन्न दलका नेताहरूबाट पत्रकारितामाथि आक्षेप लाग्ने गरेको भए पनि उपनिर्वाचनको मुखमा आएको यो विवादले रास्वपालाई थप अप्ठ्यारोमा पार्ने देखिन्छ।

रास्वपाको रणनीति र चुनौती

रुपन्देही–३ को उपनिर्वाचनमा रास्वपाले आफ्नो प्रभाव विस्तार गर्न गतिविधि तीव्र बनाइरहेको छ। तर, उपाध्यायको अभिव्यक्तिले पार्टीको रणनीतिमा धक्का पुग्ने खतरा बढेको छ। पत्रकार संगठनहरूले यो मुद्दालाई गम्भीर रूपमा उठाएकाले रास्वपाले कसरी जवाफ दिन्छ र यो विवादलाई कसरी समाधान गर्छ, त्यसले पार्टीको छवि र चुनावी सम्भावनालाई प्रभाव पार्ने निश्चित छ। यो विवादले उपनिर्वाचनको माहौललाई थप तताउने देखिएको छ। अब रास्वपाले यो संकटलाई कसरी सम्हाल्छ, त्यो हेर्न बाँकी छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *