भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्य सम्पन्न भएको जानकारी दिइएको हो।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उच्च अधिकारीसहित देशभरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। बैठकमा प्रत्येक जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे विस्तृत जानकारी लिइएको थियो।
मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार छलफल निर्वाचन तयारी, सुरक्षा अवस्था र समन्वयका विषयमा केन्द्रित थियो। सबै जिल्लाबाट निर्वाचनको तयारी पूरा भएको तथा सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको उनले बताइन्।
बैठकमा जिल्लास्तरीय तयारी, विद्यमान अवस्था र केन्द्रबाट आवश्यक समन्वयबारे पनि छलफल भएको थियो।
शान्ति(सुरक्षाको अवस्था, मतदानका दिन अपनाउनुपर्ने सतर्कता र संवेदनशील क्षेत्रको व्यवस्थापनबारे समीक्षा गर्दै आवश्यक रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिइन्।
गृहसचिव श्रेष्ठले निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। बैठकमा सबै कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री सम्बन्धित मतदानस्थलमा पुगेको जानकारी समेत दिइएको थियो।








