बागमती प्रदेशमा ८ जना मन्त्रीले शपथ ग्रहण गरे, जसमा एमालेका ६ र कांग्रेसका २ जना छन्।
मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, भरत बहादुर केसी, किरण थापा, डा। दिनेशचन्द्र देवकोटा, जयराम थापा, कृष्णकुमार तामाङ र शिवराज अधिकारी मन्त्री नियुक्त भएका छन्।
नियुक्त मन्त्रीहरू विभिन्न पृष्ठभूमिबाट आएका छन्, जसमा आन्दोलनकारी, निर्वाचित सांसद र पार्टीका विभिन्न पदमा रहेका व्यक्तिहरू छन्।
हेटौँडा । बागमती प्रदेशका ८ मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एमालेका ६ र कांग्रेसका २ मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकारमा गएका हुन् ।
एमालेबाट मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र डा। दिनेशचन्द्र देवकोटाले मन्त्री पद पाएका छन् भने कांग्रेसबाट कृणकुमार तामाङ र शिवराज अधिकारीले पद तथा गोपनियताका सपथ लिएका हुन् । मन्त्री पदमा नियुक्त भएकाहरू विशेषगरी आन्दोलनमा कमान्डर रहेका छन् ।
बागमती प्रदेशसभा सदस्यमा ललितपुर १ ९क० बाट निर्वाचित नेकपा एमालेका मधुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । पौडेलले ११ हजार २९९ मतसहित माओवादी केन्द्रका हरि दाहाललाई पराजित गरेर प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् ।
ललितपुरको गोदावरी नगरपालिका–३ खहरेका स्थानीय पौडेलले व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका छन् । २०२३ साल भदौ ८ गते ललितपुरका गोदावरी ३ खहरेमा जन्मिएका पौडेलको ०३९ सालमा विद्यार्थीकालबाटै राजनीतिक यात्रा थालेका हुन् । तत्कालीन समयमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका पौडेल नमुना मच्छिन्द्र विद्यालयमा स्ववियु सहसचिव हुँदै नेपाल कमर्स क्याम्पसको स्ववियु सभापति बनेका थिए ।








