कञ्चनपुर, १७ असार । शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन् । लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढन थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताइन् ।
“गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ”, उनले भनिन्, “यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुआगावै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ ।”
केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लाष्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन् । जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताए ।
“वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ”, उनले भने, “वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ ।”