काठमाडौं नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ।
सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबीच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारीबारे घनीभूत छलफल भइरहेको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्न सहमति जुटाइसकेको जंगी अड्डा स्रोतले दाबी गरेका छ। स्रोतका अनुसार, उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ।
टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएको सैनिक स्रोतले जनाएको छ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासको मोडालिटी, पर्यवेक्षक र सहभागी संख्या टुंगो लगाउन दुबै पक्ष अन्तिम छलफलमा जुटेका छन्। रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले नेपाली र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास नियमित कार्यक्रमअन्तर्गत रहेको बताए।
भारत, अमेरिका, चीनसँग हुँदै आएको सैन्य अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान(प्रदानमा केन्द्रित हुन्छ, रक्षा मन्त्रालयका प्रवक्ता आचार्यले अन्नपूर्णसँग भने, ‘यस्ता प्रकारका सैन्य तालिम र अभ्यासहरू कसैप्रति लक्षित हुँदैन।’
सैन्य अभ्यासकै विषयमा चिनियाँ रक्षा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर नेपाली सेनाको उच्च टोली चीनको छेन्दू पुगेर साउन ८ गते नेपाल फर्किएको जंगी अड्डा स्रोतले बताएको छ।
सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। जंगी अड्डाले सैन्य अभ्यासको अन्तिम तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित ५ सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दू पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएको सैनिक स्रोतले जनाएको छ।








