शरद रेग्मी
,तुलसीपुर, असार २७
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुरस्थित मा.वि. दोघरे विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताप्रतिको जिम्मेवारीलाई आत्मसात गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका १०० बिरुवा रोपिएको रोटरी क्लबका महासचिव मोहन भण्डारीले जानकारी दिनुभयो।
“एक घर–एक बिरुवा” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुनिता मुकेश प्रमुख अतिथि रहनुभएको थियो भने रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देबेन्द्र केसीले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष सन्दीप भुषाल, रोटरी क्लब अफ तुलसीपुरका पूर्वअध्यक्षहरू विमल रिजाल, ललितबहादुर घर्ती, यज्ञबहादुर केसी, देवबहादुर केसी, इन्जिनियर पवन योगी,निवर्तमान अध्यक्ष संन्दिपन रिजाल लगायतको सहभागिता रहेको थियो।

साथै विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा ईन्ट्रयाक्ट क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोटरि क्लब अफ तुलसीपुरका अध्यक्ष देबेन्द्र केसीले वातावरण संरक्षणका लागि रोटरी क्लबले हरेक वर्ष करिब १०० बिरुवा रोप्दै आएको बताउनुभयो।
उहाँले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण र रेखदेखका लागि स्थानीय टोल, विद्यालय, सामुदायिक वन तथा समुदायसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो।

उहाँले हरेक वर्ष रोपिएका बिरुवामध्ये करिब साठ्ठि प्रतिशत सफलतापूर्वक हुर्किरहेको उल्लेख गर्दै १२ वर्षअघि तत्कालीन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले सुरु गर्नुभएको “क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर” अभियानको स्मरण गर्नुभयो।
उक्त अभियानअन्तर्गत रोटरी, रोट्र्याक्ट, लायन्स, जेसीज तथा सुरक्षा निकायको पहलमा बजार क्षेत्रमा रोपिएका बिरुवाले अहिले तुलसीपुरलाई हरियाली बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।

सो अबसरमा रोट्र्याक्ट क्लबका अध्यक्ष सन्दीप भुषालले जलवायु परिवर्तन र ग्लोबल वार्मिङप्रति विद्यार्थीलाई सचेत गराउने उद्देश्यले विद्यालय परिसरमा वृक्षारोपण गरिएको बताउनुभयो।
खाली रहेका स्थानलाई हराभरा बनाउँदै वातावरणीय सन्तुलन कायम गर्न यस्तो अभियानलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो।














