राइड सेरिङ भनेको यातायात सेवा हो । जसमा मोबाइल एप वा अन्य डिजिटल प्लेटफर्ममार्फत निजी सवारीसाधनका मालिकहरूले यात्रुलाई भाडामा सेवा दिन्छन् । नेपालमा यो सेवा लोकप्रिय हुँदै गएको छ । विशेष गरी मोटरसाइकल र कारमार्फत राइड सेरिङ प्लेटफर्महरू जस्तै पठाओ, टुटल, इनड्राइभ आदि प्रयोग गरेर यात्रुहरूले आफ्नो गन्तव्यमा पुग्न सवारी बुक गर्न सक्छन् ।
यसले यात्रुलाई सस्तो, छिटो, र सुविधाजनक यात्रा प्रदान गर्छ । तर नेपालमा सार्वजनिक यातायात व्यवसायीहरूले यसको विरोध गर्दै आएका छन्, किनभने यसले परम्परागत यातायात व्यवसायलाई चुनौती दिएको छ । सरकारले यसलाई व्यवस्थित गर्न नियमावली बनाउने प्रयास गरिरहेको छ ।
विरोध किन भइरहेको छ ?
नेपालमा राइड शेयरिङको विरोध मुख्य रूपमा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड शेयरिङ सञ्चालन तथा नियमन सम्बन्धी नियमावली २०८२’ को कारणले भइरहेको छ । गण्डकी प्रदेशको नियमावलीले निजी सवारीलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न अनुमति दिएपछि यो विवाद थप चर्किएको हो । यातायात व्यवसायीहरूले यो नियमावलीको विरोधमा आन्दोलन गरिरहेका छन् ।

ट्याक्सी, बस, र अन्य सार्वजनिक यातायात व्यवसायीहरूले राइड शेयरिङ सेवाले आफ्नो व्यवसायमा नकारात्मक असर पारेको गुनासो गरेका छन् । उनीहरूका अनुसार, निजी सवारी साधनले कम भाडामा सेवा प्रदान गर्दा परम्परागत यातायात व्यवसायको बजार खोसिएको छ ।