काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न राजदूतहरूलाई आग्रह गरेकी छन् ।
निर्वाचनको मिति आउन अब ५ महिनाभन्दा पनि कम समय बाँकी भन्दै प्रधानमन्त्री कार्कीले, नयाँ पुस्ताले आफूहरुबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवम् प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका र सरकारले पनि काम गरिरहेको दाबी गरिन् ।
अपेक्षा अप्राप्य अपेक्षा पनि होइनन् । सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु सर्वथा स्वाभाविक विषय हो, उनले भनिन् । सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएपनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम मानक स्थापना गर्ने गरी काम गर्न आफू प्रतिवद्ध भएको उनले बताइन् । उनले थपिन्, ुयही प्रतिवद्धताका साथ तपाईंहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ ।ु
आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन नगरिने कार्कीले बताइन् । उनले फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सरकार गठन भएको भन्दै सरकार त्यसमै केन्द्रित हुँदा सबैतिरबाट सहयोग गर्न उनले आग्रह गरिन् ।








