कांग्रेस स्रोतका अनुसार खाँणलाई त्यस निर्वाचन क्षेत्रमा टिकट दिने विषयमा चर्चा चलेको छैन। तर, दिनका लागि नैतिक संकट समेत आउन सक्ने सम्भावना छ
काठमाडौं– प्रतिनिधि सभा तर्फको रुपन्देही–३ मा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ।
उसले मतदाता नामावली अध्यावधिक र दर्ताका लागि आह्वान गरिसकेको छ।
योसँगै उक्त क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलले उम्मेदवारी दिने तयारी भएको छ।
उक्त क्षेत्रमा राप्रपाका दीपक बोहोराले कांग्रेसका बहालवाला गृहमन्त्री रहेका बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
बोहोराको निधनपछि उक्त क्षेत्र रिक्त रहेकाले उप निर्वाचनको तयारी भएको छ।
नेपाली कांग्रेसले पराजित भएका खाँणलाई उक्त क्षेत्रमा टिकट दिन्छ या दिँदैन भन्ने अहिलेसम्म तय भएको छैन।
तर एमालेले भने खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग तय भएको छ। यसअघि उनी राष्ट्रिय सभा सदस्यमा ल्याइएका थिए।
कांग्रेस स्रोतका अनुसार खाँणलाई त्यस निर्वाचन क्षेत्रमा टिकट दिने विषयमा चर्चा चलेको छैन। तर, दिनका लागि नैतिक संकट समेत आउन सक्ने सम्भावना छ।
खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका अभियुक्त हुन्।
‘उहाँमाथि अभियोग भएका कारणले टिकटको विषयमा धेरै नै छलफल हुनेछ। पार्टी बैठकले कसलाई दिने भन्ने निर्णय गर्छ। अहिलेसम्म चर्चा छैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
०७९ को निर्वाचनमा राप्रपाका बोहोरा खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बिजयी भएका थिए। बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाएका थिए।