वर्दिया, १४ साउन । लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाऔं लुम्बिनी–२०२५’ अभियान सञ्चालन गरेको झण्डै एक वर्ष हुन लागेको छ । पर्यटकको आगमन बढाउनका लागि प्रदेश सरकारले गत पुस ४ गते सात वटै प्रदेशका पर्यटनमन्त्री र सचिव बोलाएर बर्दियाको ठाकुरद्धारामा भव्य कार्यक्रम आयोजना गरेर अभियानको उद्घाटन गरेको थियो ।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनका क्रममा अभियानले बर्दिया राष्ट्रिय निकुञ्ज र सो क्षेत्रका पर्यटन, होटल व्यवसायीसँगै समुदायको आयआर्जनमा ठूलो परिवर्तन ल्याउने दाबी गरेका थिए । प्रदेशको पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्मार्फत सञ्चालित अभियानमा ठाकुरबाबा नगरपालिकाले समेत सहकार्यको हात अगाडि बढायो ।
अभियान घोषणा गरेपछि प्रदेश सरकार गायव भएको भन्दै होटल व्यवसायी र पर्यटक व्यवसायीहरु रुष्ट बनेका छन् । सरकारले आफूहरुलाई ‘उल्लु बनाएको’ उनीहरुको आरोप छ । ‘अभियानको आठ महिना बितिसक्दासमेत सरकार देखिएको छैन । अभियान घोषणा गरेपछि सरकार बेपत्ता भएको छ’,उनले भने ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने अभियानका रुपमा चित्रण गरिएको कार्यक्रम पूर्ण रुपमा असफल बनेको व्यवसायीको आरोप छ । होटल संघ नेपाल, बर्दियाका अध्यक्ष मोहन चौधरीले लुम्बिनी पर्यटन विकास परिषद् र सरकारले बर्दियाको नाम बेचेको तर काम नगरेको बताए । उनले भने,‘बर्दियाको पटकपटक नाम बेचे । तर, देखिनेगरी एउटा पनि काम गरेका छैनन् ।’
सरकारले व्यवसायीहरुलाई बेवकुफ बनाएको आरोप उनको छ । उनका अनुसार हाल ठाकुरद्धारामा रहेको ३४ वटा होटल तथा रिर्सोटहरु ठूलो समस्यामा छन् । तर, सरकारले ती होटलहरुको संरक्षणका लागि कुनै काम नगरेको उनको गुनासो छ । भिजिट बर्दिया नाम राखेर कामचाँहि डिलिट बर्दिया गरेको अध्यक्ष चौधरीको जिकिर छ भन्दै जनआस्थाले खबर लेखेको छ ।








