लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो। समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहना र सोचअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने , “युवा पुस्ताको चाहनाअनुसार हाम्रो काम पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध छ। लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो।” मुख्यमन्त्री आचार्यले सेवा प्रवाहमा ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासो समयमै सम्बोधन गर्न सरकार केन्द्रीत रहेको बताए । कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो भने पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्ने बताए ।








