काठमाडौं,८-साउनर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्मा अध्यक्ष र एकजना सदस्य मात्र उपस्थित भए पनि बैठक बस्न र नियुक्तिको सिफारिसको निर्णय लिन सकिने प्रावधानप्रति चासो देखाएका छन्।
उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको नौ दिन भइसकेको छ। तर राष्ट्रपतिको चासोका कारण हाल त्यसको अध्ययन भइरहेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए। उनका अनुसार राष्ट्रपति प्रमाणीकरण अघि कुनै पनि विधेयकमाथि चासो राख्न सक्ने अधिकार राख्छन्।
संघीय संसद्को दुबै सदन(प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित उक्त विधेयक असार ३२ गते सभामुख देवराज घिमिरेमार्फत राष्ट्रपति कार्यालयमा पठाइएको थियो।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने गरी कुल ६ सदस्य हुन्छन्स् प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, र उपसभामुख।
हाल प्रचलित ऐनअनुसार परिषद्को बैठक बस्न अध्यक्षसहित कम्तीमा चारजना सदस्यको उपस्थिति अनिवार्य छ। तर संशोधित विधेयकमा भने गणपूरक संख्याका चारवटा भिन्न अवस्था परिकल्पना गरिएको छ, जसमा अध्यक्ष र एक सदस्य मात्र भए पनि निर्णय गर्न सकिने व्यवस्था समावेश छ।








