काठमाडौं । धनुषामा बिहीबार राति तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । डीएसपी थापाका अनुसार गोबराही क्षेत्रमा अवैध सामान लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो ।
अवैध सामान खोजतलास गर्ने क्रममा सशस्त्रले एउटा मोटरसाइकल फेला पारेको थियो । नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी डेढ सयको संख्यामा लुकिछिपी बसेका तस्कर समूहले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि आक्रमण गरेको डीएसपी थापाले बताए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायरसमेत गरेको थियो ।
सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्नु र आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्र प्रहरीको दायित्व हो । त्यसैले, सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । त्यसैले, नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ । यसक्रममा केही सशस्त्र प्रहरी कर्मचारीको ज्यानै गएको छ । केही घाइते भएका छन् । सशस्त्र प्रहरीले पनि तस्करहरूलाई पक्राउ गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने गरेको छ ।
तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ । कहिलेकाहीँ सीमा नाकाबाट दैनिक उपभोग्य सामान ल्याउँदा सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको आरोप पनि सशस्त्रमाथि लाग्ने गरेको छ ।
सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण छ । तर पनि उनीहरू आफ्नो दायित्व निर्वाहमा दत्तचित्त भएर लागिरहेका छन् । १६ मंसिर २०८१ मा सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा भएको दुःखद् घटनातर्फ फर्कौं । त्यस दिन मदिरा तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा मध्यरात सशस्त्रको टोली त्यहाँ परिचालन भई आफ्नो दायित्व निर्वाह गर्दै थियो । तर, आफ्नो दायित्व निर्वाह गरिरहेका सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवलाई तस्करीमा प्रयोग भएको गाडीले ठक्कर दिएर भारततर्फ भाग्यो । तस्करीको सामान बोकेर तीव्रगतिमा आएको गाडी सई यादवले रोक्न खोज्दा उनैलाई ठक्कर दिएर भागेको थियो । सो घटनामा सई यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
२३ कात्तिक २०८१ मा रूपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजस्व अनुसन्धान टोलीमाथि एक समूहले अवरोध पु¥यायो । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट १ सय १२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा साँझपख स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पु¥याएको थियो । तस्करहरूको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको थियो । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रूपमा नेपाल भित्याई चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा चार जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सो टोलीले मुजहनाका ३२ वर्षीय दिलीप लोधको घरमा खानतलासी गरी १ सय १२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।
अवैध चिनी बरामद गरेर फर्किने क्रममा सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए । त्यसपछि रूपन्देहीका तत्कालीन गणपति सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको थियो । सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरवितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि बरामद चिनीसहित सवारीसाधनहरू राजस्व अनुसन्धान कार्यालय बुटवलमा लगिएको थियो । सो घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना१झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको थियो ।
त्यस्तै, २०८० को चैत मसान्तका दिन पनि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको थियो ।
चार जनाको गस्ती टोलीलाई पोस्टभन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सीमा स्तम्भ नं। १५७–१ नजिक भारतबाट अवैध रूपमा दुईवटा साइकलमा नेपाल ल्याउँदै गरेको धान नियन्त्रणमा लिन खोज्दा तस्कर र सशस्त्र प्रहरीबीच भनाभन भएको थियो । दुवै पक्षबीच विवाद भएपछि रतुवामाई–१ सोनापुर बस्ने साबर मियाले प्रहार गरेको ढुंगाबाट तामाङको टाउकामा गम्भीर चोट लागेको थियो ।
‘आपराधिक प्रवृत्तिका व्यक्ति खुला सिमानाको मौका छोप्दै अवैध काम गर्न खोज्छ,’ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा भन्छन्, ‘सुरक्षाफौजले त्यस्तो काम गर्न दिँदैन, यसले उनीहरूमा ‘बदला’ लिनुपर्छ भन्ने जाग्छ र कम टोली भएको मौका पारेर जाइलाग्छ ।’ उनका अनुसार आफ्नो सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिनु सशस्त्र प्रहरीको दायित्व हो । यही दायित्व निर्वाह गर्ने क्रममा डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि आपराधिक मनोवृत्ति बोकेका समूहबाट समयसमयमा आक्रमण हुँदै आएको छ । ‘सशस्त्र प्रहरीले त्यसको कडा ढंगले प्रतिकार गर्दै आएको छ,’ थापाले भने, ‘अर्को कुरा, त्यस्ता व्यक्तिको मनोविज्ञान नै सुरक्षाफौजमाथि आक्रमण ग¥यो भने उनीहरूको मनोबल कम हुन्छ भन्ने हुन्छ तर सुरक्षाफौजको मनोबल घट्ने होइन, झन् बढ्छ ।’
भारतीय तस्कर समूहबाट समेत आक्रमण
आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि नेपालका तस्कर समूहबाट मात्रै होइन, भारतीय तस्कर समूहबाट पनि आक्रमण हुने गरेको छ । ५ असोज २०७८ साँझ कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका थिए । त्यस दिन साँझ करिब ८ बजे दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजनजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको थियो ।
नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थिए । तस्कर समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, ३०–४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरूलाई नियन्त्रणमा लिने सशस्त्रको प्रयास व्यर्थै भएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सोको जानकारी एसएसबी र भारतीय प्रहरीलाई दिएको थियो ।
जेठ २०७७ मा सर्लाहीको नारायणपुर नाकामा पनि आक्रमण गरेको थियो । त्यस दिन अवैध रूपमा नेपाल पस्न खोजेका थोरै संख्याका भारतीयलाई रोक्न खोज्दा केही क्षणमै भेला भएका सयौं भारतीय व्यापारी सशस्त्र प्रहरीमाथि जाइलागेका थिए । प्रतिकारस्वरूप सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भएको थियो भने तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका थिए । यसअघि सोही वर्षको १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाई फायर गरेर भीड तितरवितर बनाएको थियो ।
४ साउन २०७७ मा पनि नेपाल–भारत सीमा क्षेत्रको अर्को नाका झापाको गौरीगन्ज गाउँपालिका–५ मा भारतीय तस्कर समूह सशस्त्र प्रहरी टोलीमाथि खनिएको थियो । त्यस दिन नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिल्लर पूर्व मल्हाटोलीनजिकै भारतीय तस्कर समूह सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि खनिएको थियो । झडपका क्रममा सशस्त्रका दुई जना जवान घाइते भएका थिए । हवाई फायरपछि तस्कर समूह फरार भएको त्यसबेला सशस्त्र प्रहरीले जनाएको थियो ।
यस्तै, कोरोनाका कारण सीमानाका बन्द रहेको अवस्थामा १ वर्षअघि दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । त्यसक्रममा एक सशस्त्र प्रहरी हबलदार घाइते भएका थिए । त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।