सुकौराकोटको सभ्यता, विकास र संरक्षणका लागि सरोकारवालासंग छलफल

Spread the love

थारु समुदायको ऐतिहासिक थलो सुकौराकोटको सभ्यता, विकास र संरक्षणका विषयमा विशेष छलफल तथा सरसल्लाह कार्यक्रम सम्पन्न भएको छ।

तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको सुकौराकोटको समग्र विकासलाई लक्षित गर्दै थारु अगुवा, बुद्धिजीवी, योजनाकार, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सुकौराकोटको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्वबारे गहिरो छलफल गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सुकौराकोटमा रहेको ऐतिहासिक प्रतीकहरू ‘कृष्ण र पाण्डवका पाइला’ को संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले वरकीमार लेखमार्फत मात्र होइन, वास्तविक इतिहासलाई उजागर गर्ने काममा जोड दिन आग्रह गरे।

प्रदेश सरकारले सुकौराकोट संरक्षणका लागि कममा ४ करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन गरिसकेको जानकारी दिए । साथै, नवलपरासीदेखि बर्दिया जिल्लासम्मका थारु समुदायको इतिहास संरक्षणका लागि संग्रहालय निर्माण भइरहेको पनि उल्लेख गरे ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले सुकौराकोट जस्तो स्थलको संरक्षणका लागि व्यवस्थित कार्यविधि आवश्यक रहेको बताए। उनले यसलाई राजनीतिक दृष्टिकोणबाट नभई सांस्कृतिक सम्पदा स्वरूप संरक्षण गर्नुपर्ने धारणा राखे।

नेपाल संस्कृत विश्वविद्यालयका निर्देशक डा। जर्मन चौधरीले सुकौराकोटलाई थारु सभ्यताको जरा मानेर स्थानीय अग्रसरतामा यसको संरक्षण र अध्ययन(अनुसन्धान आवश्यक रहेको बताए।

थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले सुकौराकोट दरबारको संरचनालाई नबिगारेर संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले २०१२ सालमा योगि नरेन्द्रनाथले सुकौराकोटका थारु राजा विषयमा लेखिएको ‘वरकीमार’ पुस्तक इतिहासको आधार बनेको स्मरण गराए।

पूर्व योजना आयोगका उपाध्यक्ष नहकुल सुवेदीले अनुसन्धान र सहकार्य अभावमा सुकौराकोटको विकास सम्भव नहुने बताए।

कार्यक्रममा संस्कृत विद् अशोक थारु, भाषा विद् रोहित कुमार चौधरी, अधिवक्ता श्रीराम चौधरी, तुलसीपुर १२ का वडाध्यक्ष खुशीराम चौधरी, ३ वडाध्यक्ष मान बहादुर रावत र दंगीशरण ३ का वडाध्यक्ष सुकलाल चौधरीलगायतले सुकौराकोट संरक्षणका लागि बृहत योजना निर्माण, ऐतिहासिक तथ्यको दस्तावेजीकरण, संग्रहालय स्थापना र पुरातात्त्विक उत्खननको आवश्यकता औंल्याए।

थारु कल्याणकारिणी सभा क्षेत्र नं। ३ र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष विनिल केसीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजीकरण गरेका थिए।

उक्त दरबार संरक्षणका लागि संघिय सरकारले दुई करोड र प्रदेश सरकारले एक करोड बजेट बिनियोजन गरेका छन् ।

यद्यपी, पछिल्लो समय उक्त दरबारको संरक्षण र महोत्सव लगाउने विषयमा विवाद चुलिदै आएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *