२७ असारर घोराही–तुलसीपुर सडकखण्डको फोरलेन निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले काठमाडौं स्थित दिवारबन्दन भगवती जेभीसँग मंगलबार दुई अर्ब ५२ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको हो।
निर्देशनालयका सूचना अधिकारी प्रकाश मगरका अनुसार सम्झौतासँगै निर्माण कम्पनीलाई वर्क अर्डर दिइसकिएको छ र अब सडक डिभिजन दाङ तथा ठेकेदार कम्पनीबीच संयुक्त सर्वेपछि काम सुरु हुनेछ।
करीब २१।५८ किलोमिटर दूरीमा घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मको सडक ३६ महिनाभित्र फोरलेनमा परिणत गरिनेछ। यसअघि भारतको एक्जिम बैंकको सहायतामा सुरु भएको ठेक्का तोडिएपछि सरकारले नै योजना कार्यान्वयन गर्ने निर्णय गरेको हो।
यसपटकको ठेक्काअन्तर्गत पुलहरू पनि फोरलेन बनाउन लागिएको छ। कालाखोलामा ९० मिटर, हापुर खोलामा १५० मिटर, र निर्माणाधीन सेवार खोलामा ७० मिटर लम्बाइको फोरलेन पुल निर्माण हुनेछ। ग्वार खोलामा भने २२० मिटर लम्बाइको दुई लेनको पुल निर्माण हुनेछ।
निर्देशनालयका अनुसार यसअघि पनि लमही–घोराही–तुलसीपुर सडक निर्माणको प्रयास भएको थियो, तर समयमा काम सम्पन्न हुन नसकेपछि ठेक्का रद्द गरिएको थियो। नयाँ ठेक्का एकैपटक घोराहीदेखि तुलसीपुरसम्मको खण्डलाई समेटेर गरिएको हो।







