नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सोमबार शपथ लिएसँगै घिसिङ औपचारिक रूपमा मन्त्री बनेका हुन् ।
घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा दुई कार्यकाल निर्वाह गरिसकेका छन् । पहिलो कार्यकालमा उनले मुलुकमा रहेको १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालका प्रतीकका रूपमा ख्याति कमाएका थिए । साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा पु¥याएका थिए । रामेछापको बेथानमा जन्मिएका घिसिङले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका छन् । प्राधिकरणमा सफल नेतृत्वका कारण उनलाई राजनीतिक अनुभव नभए पनि सरकारको जिम्मेवारी दिइएको हो ।
शपथपछि अब उनीमाथि ऊर्जा, पूर्वाधार र शहरी विकास जस्ता महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्दै चुनौतीपूर्ण दायित्व सम्हाल्ने जिम्मेवारी आएको छ ।








