७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोग गठन गर्ने भएको छ। यससम्बन्धी व्यवस्था गर्न तयार पारिएको अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।
संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था गर्न सक्छ। जारी भएको अध्यादेश ऐनसरह मान्य हुन्छ।
सरकारी अधिकारीहरूका अनुसार प्रस्तावित अध्यादेशमार्फत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको थप छानबिन गर्ने कानुनी आधार तयार गरिनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आन्दोलनमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरूको माग सम्बोधन गर्ने उद्देश्यले आयोग गठनको व्यवस्था गर्न लागिएको हो।
अध्यादेश जारी भएपछि आन्दोलनका क्रममा भएका घटनाको थप अनुसन्धान, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण निर्माण तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढ्नेछ।
त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधारसमेत अध्यादेशले तयार गर्ने सरकारी अधिकारीहरूको भनाइ छ।








