काठमाण्डौ, ११ बैशाख । तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । विभागका अनुसार मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो हावा तथा तातो लहरकोसमेत सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ । यस्तै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम भएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।








