सामाजिक क्षेत्रमा सक्रिय महिला उद्यमी तथा समाजसेवी सपना भण्डारी बस्नेतले तुलसीपुर–९ दोघरेमा रहेको माध्यमिक विद्याल यलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
तुलसीपुर–५ निवासी बस्नेतले आइतबार विद्यालयमै पुगेर विद्यालयकी प्रधानाध्यापक सुनिता यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। बस्नेतले उक्त सहयोग विद्यालयमा विद्यार्थीको अध्ययनमा सहजता ल्याउन राउण्ड टेवल निर्माणका लागि गरिएको बताइन्।
उनले पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने शैली अत्यधिक खर्चिलो बन्दै गएको उल्लेख गर्दै त्यो खर्च कटौती गरी सामाजिक हितमा उपयोग गर्न सकिने धारणा व्यक्त गरिन्। “१०८ शिवलिङ्ग बनाएर होइन, बरु १०८ बालबालिकाको शिक्षामा सकरात्मक परिवर्तन ल्याउने सानो प्रयास गरेको हुँ,” बस्नेतले भनिन्।
“धन–सम्पत्ति प्रशस्त भएपछि मात्र होइन, सानो खाजाको खर्च वा चाडपर्वमा हुने अतिरिक्त खर्च कटौती गरेर पनि सहयोग गर्न सकिन्छ,” उनले थपिन्।
विद्यालयकी प्रधानाध्यापक यादवले समाजसेवी बस्नेतले देखाएको सकारात्मक पहलको प्रशंसा गर्दै आभार व्यक्त गरिन्। उनले विद्यालयमा जेहेन्दार तथा विपन्न बालबालिकाको शैक्षिक सहयोगका लागि सञ्चालनमा रहेको अभियानमा सबैलाई जोडिन आग्रह गरिन्।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले सपना बस्नेत र डा। किशोर खत्रीले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
त्यसैगरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए। कार्यक्रमको सहजीकरण विद्यालयका सूचना अधिकारी मेघराज पोखरेलले गरेका थिए।








