व्यवसायीको मनोबल उठाउन पहल गरौं
लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्, राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन्
देउखुरी । भूकम्प, नाकाबन्दी होस् या त्यसपछिको कोभिड–१९ अनि विभिन्न समयका आन्दोलनका कारण निजी क्षेत्र उठ्नै नसक्ने गरी चेपुवामा परेको छ । कैयौं व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् । त्यसमा पनि बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण पलायन भएका व्यवसायीहरुले पुनः लगानी गरेर व्यवसाय सञ्चालन गर्ने सम्म हिम्मत गर्न सकिरहेका छैनन् । निजी क्षेत्रको मनोबल घटेको बेलामा राज्य तहबाट मनोबल उठाउने गरी नीतिगत सुधार तथा व्यवहारमा सम्बोधन गर्नेखालका कार्यक्रमहरुको आवश्यकता औंल्याइएको छ । यति मात्र होइन, आसन्न उद्योग वाणिज्य महासंघको अधिवेशन लक्षित एजेण्डा तथा व्यावसायिक एकताको बारेमा समेत चर्चाहरु भएका छन् ।

सोमबार लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्, राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशस्तरीय भेला लमहीमा शुरु भएको छ । व्यवसायीहरुको बीचको एकतालाई बलियो बनाउँदै व्यावसायिक सुरक्षालाई जोड दिइएको छ । दुई दिनसम्म चल्ने भेलामा ब्यावसायिक एकता, पर्यटन प्रवद्र्धन र आसन्न महासंघको निर्वाचन केन्द्रित छलफल गरिने प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । ‘व्यावसायिक एकतालेनै हामीलाई सफल बनाउने हो । जे जति चुनौतीहरु हाम्रासामु छन्, तिनको समाधान भनेकै हामीहरुबीचको एकताले निर्धारण गर्छ’– उहाँले भन्नुभयो– ‘व्यवसायी साथीहरुको साथलेनै लुम्बिनी प्रदेशले यस प्रकारको उचाई लिन सफल भएको हो ।’

आसन्न उद्योग वाणिज्य संघको अधिवेशनलाई लक्षित गरेर पनि व्यवसायीहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्योग वाणिज्य महासंघको पहलमा नगर उद्योग वाणिज्य संघहरुले कार्यक्रम सञ्चालनको अवसर पाउनुपर्ने धारणा राख्नुभयो । ‘व्यवसायीहरुको क्षमता अभिबृद्धिका साथै संस्थागत विकासका लागि पनि महासंघले गाउँ–नगर उद्योग वाणिज्य संघहरुमा कार्यक्रम पु¥याउन आवश्यक छ’– उहाँले भन्नुभयो– ‘यसले नै व्यवसायीहरुको बीचमा एकता बनाइराख्छ ।’

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले नेतृत्व तहबाट साना व्यवसायीहरुको पक्षमा समेत वकालत हुनुपर्ने बताउनुभयो । अहिले साना व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनका लागि लगानीका लागि समेत पहलको खाँचो रहेको, व्यावसायिक सुरक्षाका लागि सहकार्यको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । ‘व्यवसाय गरिरहेकाहरुलाई टिकाइराख्नुपर्नेछ भने नयाँ आउनेहरुलाई आकर्षित गर्ने गरी योजना बनाइनुपर्छ’– उहाँले भन्नुभयो– ‘अघिल्लो पुस्ताले जे जस्ता संघर्षहरु गर्नुप¥यो, भोग्नुपर्ने, अहिले हाम्रो पुस्ता र अब आउने भावी पुस्तालाई समेत लक्षित गरेर कामहरु गर्न जरुरी छ । यसमा हामीबीचमा सहकार्य र एकताको खाँचो छ ।’ ठकुरीले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका व्यवसायका लागि लगानी गर्न आह्वान गर्नुभयो ।

प्रदेश भेलाको उद्घाटन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारीले गर्नुभएको थियो । भेलामा १२ जिल्लाका ३७ उद्योग वाणिज्य संघहरुका अध्यक्ष, पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको सहभागिता रहेको प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु केशव भण्डारी, किशोर आचार्य, जम्सेर अलि, मोहन श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु विमल रिजाल, बिरु रावत, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलगायतले सम्बोधन गर्दै व्यावसायिक सुरक्षालाई प्रमुख विषय बनाउनुपर्ने धारणा राख्नुभएको थियो । सर्वसम्मत नेतृत्व चयनका लागि व्यवसायीहरुले पहल लिन सुझाव समेत दिएका छन् ।








