नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीसमेत हरेका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई दम्भी र घमण्डीको संज्ञा दिएका छन् । एकीकृत समाजवादी पोखरा महानगरको प्रथम अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली सत्तामा रहेर दम्भी र घमण्डी बनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सत्तामा रहिनँ भनेर बलिन्द्रधारा आँसु चुहाउँदै हिँडेको टिप्पणी गरेका हुन् । उनले ओली, प्रचण्डलगात सत्ताको नेतृत्व गरेकाहरुलाई जुवाडे समुदायको संज्ञा दिए ।
‘आज गणतन्त्रको नेतृत्वको तहमा हेर्नुहुन्छ भने यी जुवाडेजस्ता भए । गणतन्त्रको नेतृत्व खासगरी जुवाडेहरुको समुदायजस्तो भयो । आज एउटाले जित्यो,चौका, छक्का हान्यो । उसले दुनियासँग गफ गर्दै, उसले दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ । अर्को जुवामा हार्यो, त्यो रुँदैछ, कराउँदैछ, बलिन्द्रधारा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, मलाई सत्तामा जान दिएनन् भनेर ऊ त्यही सत्ताको लागि रुँदैछ । सत्ताबाट हटेकोले पनि यो जिम्मेवारी महसुस गरेको छैन, सत्तामा पुगेको त त्यो झन यस्तो दम्भी र घमण्डी भएको छ कि गणतन्त्रको राजनीतिक नेतृत्वको कुरा गर्ने हो भनेदेखि हारेका र जितेका जुवाडेहरुको समूहजस्तो भयो,’– उनले भने ।
नेता भुसालले गणतन्त्र आउँदा रमाउने र नाच्नेहरु आजको दिनमा खुसी नरहेको बताए । गणतन्त्र सही ढंगले कार्यान्वयन हुन नसक्दा मुलुकमा समस्या देखा परेको उनको दाबी छ । ‘हिजो हामी गणतन्त्र आउँदाखेरी जसरी रमाएका थियौं, जसरी हामी नाचेका थियौं, जसरी यो मुलुक प्रफुल्ल थियो, आज गणतन्त्र त्यसैगरी कार्यान्वयन हुन सकेको छैन । यस अर्थमा हामीमाथि फेरि अर्को जिम्मेवारी छ, यो गणतन्त्रको व्यवस्थामा राजनीतिक पार्टीका हिसाबले, नेतृत्वको हिसाबले हामी कहाँ चुक्यौं रु राम्ररी समीक्षा गर्नुपर्ने छ । हामीले एउटा बाटो पत्ता लगाउनुपर्ने छ । उकुसमुकुसलाई चिर्नुछ,’– नेता भुसालले भने ।
उनले लोकतान्त्रिक गणतन्त्र सबैभन्दा राम्रो व्यवस्था हो भन्नेबारेमा कहीँकतै विवाद नरहेको बताए । सामान्यतया पढेलेखेका र इतिहास बुझेका मान्छेहरुले गणतन्त्रमाथि शंका नगर्ने उनले बताए । केही इतिहासका कुँडाकर्कटहरुले बेला–बेलामा गणतन्त्रमाथि विभिन्न प्रकारका लान्छना र आक्षेप लगाउने गरेको उनको भनाइ छ । राजतन्त्र र सामन्ती सत्ता संसारभरी नै गरिब, महिलाहरु र पिछडिएका वर्गको विरुद्धमा हने उनले बताए । ‘सामन्ती राजा भनेको संसारभरी नै यस्तै हो । यस अर्थमा गणतन्त्र ल्याएर हामीले धेरै राम्रो काम गरेका हौं । शोषक वर्गमा सत्ता रहने त्यो सामन्तवादलाई फालेर हामीले धेरै राम्रो काम गर्यौं । गर्नुपर्ने नै यही थियो, हामीले यही काम गरेका हौं,’– उनले भने ।
गणतन्त्र र समावेशिताको कारणले गर्दा अहिले राज्य राष्ट्रिय स्वतरुपको बनेको उनले बताए । अहिले राज्य सबै जात, जाति, भाषा, क्षेत्र, लिङ्ग, वर्गको राज्य राष्ट्रिय राज्य बनेको उनको दाबी छ । सामन्ती राजतन्त्र कहिल्यै राष्ट्रिय राज्य हुन नसक्ने उनले बताए । ‘त्यो वंशानुगत व्यवस्था हो । यसअर्थ वंशानुगत जुन हुन्छ, त्यो राष्ट्रिय हुँदैन । आज हाम्रो राज्यलाई हामीले राष्ट्रिय बनाएका छौं । असाध्यै राम्रो काम गरेका छौं । सबैको अधिकार सुनिश्चित गरेर यो राज्य सबैको हो भन्ने बनाएका छौं,’– उनले भने ।