बाँके, १९ असार । बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले सो बैँकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । मिश्रलाई धम्बोझी चोकबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको सीआइबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो । २०६६ सालदेखि २०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा ९एमाले० का केन्द्रीय सदस्य हुनुभएको छ । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्थ्यो । स्वतन्त्र राजनीतिक समूहबाट उहाँ सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएको थियो ।
मिश्रसँगै ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । कर्णाली विकास बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा। ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।