वर्षभरि भिडभाड ने काठमाडौँ उपत्यका अहिले सुनसान बन्दै गएको छ । दसैँको टीका भोलि पर्नुका कारण उपत्यकावासी घर फर्किएपछि सडक र गल्लीहरू सुनसान देखिन थालेका हुन् ।
सधैँजसो गाडीको चापले अस्तव्यस्त रहने चोक तथा गल्लीमा अहिले सहज यातायात देखिन्छ । पसलहरू पनि पूर्ण रूपमा खुलेका छैनन् भने मुख्य मुख्य चोकमा मात्र सामान्य चहलपहल देखिएको छ । देशका विभिन्न जिल्लाबाट राजधानीमा काम र व्यवसायका लागि बस्नेहरू वर्षमा एकपटक दशैँमा घर फर्किने गर्छन् । यसपटक पनि उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिएका छन् ।
ट्राफिक प्रहरीको अनुसार हालसम्म झन्डै साढे पाँच लाख मानिसले उपत्यका छाडेका छन् । जसका कारण सडकमा सवारी साधनको चाप पनि करिब ५० प्रतिशतले घटेको प्रहरीले जनाएको छ । सार्वजनिक गाडी भने केही मात्रामा चलिरहेका छन् ।








