ओपेन्द्र बस्नेत
विभिन्न समयमा दाङको टरिगाउँ एयरपोर्ट खुबै चर्चामा आउँछ । तर जसरी चर्चामा आउँछ त्यसैगरी सेलाएर जान्छ । निर्वाचनको समयमा त झनै चर्को स्वरमा टरिगाउँ एयरपोर्टको मुद्दाले खुबै स्थान पाउँछ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका कुनै पनि पार्टीले यो मुद्दालाई विर्सनै सक्दैनन् । दलका नेताहरु जति बोले पनि यीनीहरुको ताकत नाप्ने एउटा मात्रै यन्त्र छ । त्यो हो, बजेट भाषण । जति बेला बजेट भाषण आउँछ त्यतिबेला हिस्स बुढी खिस्स दाँत भने झैं हुन्छ । अनि दाङका नेताहरु लुर्थुक भिजेको बिरालो जस्तो हुन्छन् । जनताले अब हुँदैन भनेर विस्तारै माया मारेका बेला फेरि उफ्रीउफ्री टरिगाउँ एयरपोर्टका कुरा उठाउँछन् । यीनीहरुको खेतीपाती वर्षौदेखि यसैगरी चलेको छ । जनता भेडा हुन । यिनीहरूलाई जे भने पनि हुन्छ । जति ढाँटे पनि हुन्छ भन्ने कुराको पुष्ठि यीनीहरुको व्यवहारले देखाएको छ ।
नेताका प्रतिवद्धता
प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत फागुन ५ गते टरिगाउँ एयरपोर्टमा ओर्लिए । पूर्व राष्ट्रिय सभासदस्य कोमल वलीले सञ्चालनमा ल्याएको कोमल रिसोर्टको उदघाटन गर्न आइपुगेका ओलीले एयरपोर्टको अवलोकन पनि गर्नुभयो । एयरपोर्टको विषयमा सुन्दै आउनु भएका ओलीले आफ्नै आँखाले देखेपछि केही हुन्छकी भन्ने तुलसीपुरबासीमा आशा पनि पलायो । केही समय अघि मात्रै सांसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दाङ एयरपोर्ट र फोरलेन सडक बन्छ । बनिहाल्छ । छिट्टै बन्छ । ढुक्क हुनुस ।’ सत्तासाझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि तुलसीपुरमा आएका बेला एयरपोर्ट बन्ने र त्यसका लागि बजेटको सूनिश्चिता गर्ने दङ्गाली जनतालाई आश्वासन दिनुभयो । माओवादी पनि के कम भनिदिने त हो, अध्यक्ष पुष्पकमल दहाले पनि एयरपोर्टको स्तर वृद्धिका लागि पहल गर्ने बताउनुभयो । यी पात्रहरु देशका प्रमुख हुन् । अरु त कति हो कति । तुलसीपुर आउने कुनै पनि मन्त्री वा नेता एयरपोर्टको विषयमा जानकारी नपाएर फर्केको सायदै नहोला । दाङका नेताहरूको त कुरै नगरौ । तर जस्ता थियौ मिज्जु उस्ताउस्तै भने झै । टरिगाउँ एयरपोर्टको समस्या जीउको तिउँ रहीरहने भयो ।
दाङका नेताको नाटक मञ्चन
२०११ सालमा स्थापना भएको यो विमानस्थल विकासको पर्खाइमा दशकौं बितिसकेको छ ।दाङ क्षेत्र नं ३ का संघीय सांसद दीपक गिरीले संसदको बैठकमा टरिगाउँ विमानस्थलका स्तरका लागि ३ अर्ब बजेट ले पुग्दैन यो भन्दा बढी चाहिन्छ भनेर संसदमा माग गर्नुभयो । प्रधानमन्त्री केपी शर्माले हुन्छ एयरपोर्ट बन्छ भन्दा खुशीले टेबुल ठोक्नुभयो । त्यतिमात्रै होइन नेकपा एमाले महासचिव शंकर पोखरेल, सांसद तथा नेपाली काँग्रेसक केन्द्रिय सदस्य दिपक गिरी लगायतका पालिका प्रमुखरुले समेत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएर विमानस्थलको स्तरवृद्धिको माग गरेका थिए । पूर्व राष्ट्रिय सभासदस्य कोमल वलीले पनि ज्ञापनपत्र बुझाउँदै भिडियोमार्फत विमानस्थलको पक्षमा जनचासो अभिव्यक्त गर्नुभयो ।
बजेट भाषणले दाङबासीमा निराशा
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा विमानस्थलको क्षमता विस्तार गरिने पुरानै अभिव्यक्तिलाई दोहोर्याउँदा दाङवासीहरू थप निराश भएका छन् । कम्तिमा पनि आगामी आर्थिक वर्षका लागि करोडौं बजेट पर्ने आशामा रेडियो, अनलाइन र टिभी नजिक बसेर चासोका साथ बजेट सुनिरहेका दाङबासीलाई बजेट भाषणले फेरि निराशा थप्ने काम गर्यो । जसका कारण नागरिकहरूमा सरकारको प्रतिबद्धता प्रती गम्भीर शंका उत्पन्न भएको छ । स्थानीयवासीहरू भन्दै छन्, “हरेक बजेटमा आश्वासन मात्र दोहोरिन्छ, कार्यान्वयनको नाममा शून्यता छ ।” सत्तामा रहेका दुई ठूला दलका नेताहरुले बोलेको कुरा पुरा नगर्दा नागरिकमा आक्रोश बढेको छ ।
बजेट भाषण

यस अघि पनि देशभरका एयरपोर्टको नाम भन्दै स्तरउन्नती गर्ने शब्द राखिथ्यो । अहिले पनि त्यही भएको छ । चालु आर्थिक वर्षमा एक करोड बजेटको सूनिश्चिता भनियो त्यो पनि हात्तीआयो हात्ती आयो फुस्सा भने झै भएको छ । यस्तै भएर होला सायद केही समय अघि डा। किशोर खत्रीले एयरपोर्ट बन्दै बन्दैन भनेर सार्वजनिक मञ्चमै भन्नु भएको थियो । यो कुरा कतिपयलाई तितो पनि लाग्यो । तर सत्ताको बागडोर सम्महालेका व्यक्तीले बोलेको कुरा आफै पुरा नगर्दा जनस्तरबाट यस्ता स्वरहरु सुनिनु स्वभाविकै हो ।
जनताको निराशा र सांसदहरूप्रतिको आक्रोश अहिले चुलिँदै गएको छ । स्थानीय नेता, सांसद तथा सरकारमा रहेका प्रतिनिधिहरूको प्रभावहीनता र निष्क्रियतालाई लिएर व्यापक असन्तुष्टि देखिएको छ । विकासको प्रतीकका रूपमा हेरिएको टरिगाउँ विमानस्थल अब ‘ब्यक्तिगत प्रचार’को औजारमा मात्र सीमित भएको स्थानीयको गुनासो छ । टरिगाउँ एरपोर्टमा बजेट विनियोजन नहुँदा विशेष गरेर तुलसीपुरबासीमा निराशा थपिएको पत्रकार प्रबल रेग्मी बताउनु हुन्छ । प्रधानमन्त्रीले समेत संसदमा सम्बोधन गरेको कुरा बजेटमा नआउँदा टरिगाउँ एयरपोर्ट बन्छ भन्ने कुरामा अब ढुक्क हुने अवस्था नरहेको पत्रकार रेग्मीले बताउनुभयो । नेतहरुको बोलिका कारण जनतामा आक्रोश, निराशा र कुण्ठा पैदा भएको बताउँदै रेगमीले राजवादी आन्दोलन पनि यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । टरिगाउँ एयरपोर्टकै कारण नेताहरुले भारी मूल्य चुकाउनुपर्ने आँकलन समेत गर्न थालिएको छ ।
यस विषयमा संघिय सांसद दिपक गिरीसंग बुझ्न खोज्दा उहाँले कुनै प्रतिकृया दिन चाहनुभएन । टरिगाउँ एयरपोर्टको स्तरवृद्धि नहुँदा ११ सालमा स्थापना भएको एयरपोर्टमा हवाइ सेवा कहिले बन्द हुने र कहिले सुचारु हुँदै आएको छ । यहाँका नागरिकहरु घर अगाडीको एयरपोर्टमा विमानले नियमित उडान नभरेपछि नेपालगंज र भैरवा गएर जहाज चढ्ने गरेका छन् ।