दशरथ घिमिरे, श्रावण १८,देउखुरी । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये छ जिल्लामा कोदो खेती हुने गरेको छ । तराईका जिल्लामा पनि कोदो खेतीको परीक्षण गरिए पनि हावापानीको हिसावले पहाडी जिल्लामा यसको खेती हुँदै आएको हो ।
पौष्टिक खाद्यान्नको सूचीमा अगाडि रहेको कोदोलाई रैथाने बालीको रुपमा लुम्बिनी प्रदेश सरकारले प्रवद्र्धन गर्ने नीति लिएको छ । लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कोदो खेतीलाई व्यावसायिक र वैज्ञानिक रूपमा विस्तार गर्न सकेमा प्रदेशको आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने बताउनुभयो । उहाँ‘का अनुसार लुम्बिनीको पहाडी तथा मध्यपहाडी भूभागमा कोदो खेतीको दीर्घकालीन सम्भावना रहेको छ । कोदो उत्पादन, प्रशोधन र बजार व्यवस्थापनका लागि प्रदेश सरकारले रणनीति बनाएको छ । ‘कोदो परम्परागत मात्र नभई पौष्टिक तत्वले भरिएको खाद्यान्न हो, जसको माग पछिल्लो समय शहरी क्षेत्रसम्म बढ्दो छ’– उहाँले भन्नुभयो– ‘कोदोको माग बढ्दै जाँदा उत्पादन समेत बढाउनुपर्ने देखिएको छ । किसानलाई खेती गर्न प्रेरित गर्न सरकारले ध्यान दिन्छ ।’
लुम्बिनी प्रदेशमा कोदो खेतीका लागि अनुकूल भू–भाग र जलवायु छ । सस्तो लागतमा चाँडो उत्पादन हुने र बजार माग समेत बढिरहेको हुँदा यसलाई आयआर्जनको माध्यम बनाउन सकिनेमा जोड दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेशमा १२ हजार ४२ हेक्टर क्षेत्रमा कोदो खेती गरिएको थियो, जसबाट १२ हजार एक सय २४ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रोल्पा र रुकुम जिल्लाहरू कोदो उत्पादनका प्रमुख क्षेत्र हुन् । कोदो तीन महिनामै पाक्ने, वर्षायाममा उत्पादन लिन सकिने र रोग सहनशक्ति भएका कारण किसानका लागि भरपर्दो बालीका रूपमा स्थापित हुँदै गएको छ ।
प्रदेश सरकारले कोदो प्रवद्र्धनका लागि यसअघि रोल्पाको लुङ्ग्री गाउँपालिकामा ‘कोदो स्मार्ट गाउँ’ कार्यक्रम सञ्चालन गरेको थियो । किसानहरूलाई वैज्ञानिक खेती, प्रशोधन र बजारीकरणसम्बन्धी तालिम दिइएको छ भने कोदोसम्बन्धी शैक्षिक सामग्री तथा ज्ञान पुस्तिका प्रकाशित गरी कृषकबीच वितरण भइरहेको छ । अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमार्फत कोदोको उत्पादन, पोषण मूल्य र बजारीकरणमा सुधार गर्ने प्रयास भइरहेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताउनुभयो । ‘कोदोको बजार सुनिश्चित गर्न सकेमा यसले गाउँमै रोजगारी सिर्जना गर्छ, कृषकको आम्दानी बढाउँछ र आयातित खाद्यान्नमा निर्भरता घटाउँछ’– उहाँले भन्नुभयो–‘कोदो खेतीका लागि किसानको सहभागिता बढाउनका लागि सरकारले ध्यान दिएको छ ।’
उहाँका अनुसार सरकारले कोदो खेतीलाई प्रदेशको प्रमुख कृषि अभियानका रूपमा अघि बढाउनेछ । सरकारले तराईमा धान बालीलाई अघि बढाउने र पहाडमा कोदो खेती प्रबद्र्धनको नीति अवलम्बन गरेको हो । अग्र्यानिक प्रदेश बनाउने रणनीतिका साथ अघि बढेको सरकारले रैथाने बालीको संरक्षण र प्रबद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको जनाइएको छ । केही वर्षभित्र खाद्यान्न तथा तरकारी खेतीलाई पूर्ण अग्र्यानिक बनाउने योजना सरकारले बनाएको हो ।








