“तुलसीपुरमा युवाका लागि सीपको उज्यालो सुरुवात”

Spread the love

“गुरु राखे मात्रै जीवनमा सफलता मिल्छ,” कार्यक्रमका वक्ता बिमल रिजालको यो भनाइले केवल तालिमको महत्व मात्र होइन, युवा पुस्ताको भविष्य निर्माणमा सीपको भूमिकालाई पनि परिभाषित गर्‍यो।

तुलसीपुरमा हालै सम्पन्न ‘इन्डस्ट्रीयल इलेक्ट्रिसियन’ र ‘बारिस्ता कफी’ तालिमले ४० जना युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढाएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको यो तालिम युवाहरूका लागि उज्यालो भविष्यको ढोका बनेको छ।

१६ दिनको इलेक्ट्रिसियन तालिम र १५ दिन को बारिस्ता तालिममा सहभागी युवाहरूले न केवल सीप सिके, व्यवसायप्रति आत्मविश्वास पनि बढाए।

तालिममा सहभागी सन्तोष पौडेलले भने, “सिकेको सीपले कफी बनाउने काममा सहजता आयो, अझ विस्तारमा सिक्न पाइयो भने यो पेशालाई नै रोजगारीको माध्यम बनाउन सकिन्छ।” अर्का सहभागी अमर पहाडीले तालिमको अवधि लम्ब्याइएनुपर्ने धारणा राख्दै तालिम अझ प्रभावकारी बनाउन सकिने बताए।

संघका पूर्व अध्यक्ष बिमल रिजालले तालिमलाई औद्योगिक “गुरुकुल” को संज्ञा दिँदै भने, “सीप सिकाउनु, व्यापार गर्न सिकाउनु र संस्कार दिनु – यी सबै संघको दायित्व हुन्।” उनले तालिममा ‘गुरु(शिष्य परम्परा’को पुनरावृत्ति गर्दै सीप र मान्यताको समायोजन आवश्यक भएको बताए।

प्रदेश प्रबन्धक अम्बिका प्रसाद तिमिल्सिनाले निजी क्षेत्रको उत्पादनशीलता बढे मात्रै मुलुकको अर्थतन्त्र सबल हुने बताए। त्रिपक्षीय संयोजन(सरकार, निजी क्षेत्र र युवाको तालमेल(विना उद्योग उत्पादनशील हुन नसक्ने उनको तर्क थियो ।

संघका अध्यक्ष विनिल केसीले तालिम केवल प्रमाणपत्रका लागि नभई प्रयोगका लागि हुनुपर्नेमा जोड दिए। “आज नलागे पनि भोलि त्यो सीप प्रयोगमा आउँछ, तर सीपको गुणस्तर उच्च नहुँदा त्यसको औचित्य हराउँछ,” उनले स्पष्ट पारे। उनले तालिमपछिको फलोअप अनिवार्य रहेको बताउँदै दोहोरिने गरि कसैलाई पनि स्थान नदिएको औल्याए ।

संघका प्रेस सल्लाहकार शरद रेग्मीले आगामी एक वर्षभित्र ५०० जनालाई सीपमूलक तालिम दिने लक्ष्य रहेको बताए। “ब्यूटी पार्लरदेखि इलेक्ट्रिसियन र कफी बनाउने जस्ता व्यावसायिक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने हाम्रो अभियान हो,” उनले भने।

फिल्ड मनिटर विष्णु विकका अनुसार व्यवहारिक तालिमले युवामा आत्मविश्वास र व्यक्तिगत क्षमता वृद्धि भएको बताए ।

संघका उपाध्यक्ष देब बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।

सीपमूलक तालिमले अब प्रमाणपत्र बाँड्ने औपचारिकता मात्र होइन, युवाको भविष्य निर्माण गर्ने अभियान नै बन्न थालेको छ। तुलसीपुर उद्योग वाणिज्य संघको यो प्रयासले केवल काम सिकाउँने मात्रै नभइ काम भविष्यमा व्यवसायी बन्ने विश्वास समेत जगाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *