नीता चौधरी
२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्न बाँकी रहेका सूचकहरू पूरा गर्न सरोकारवालाहरूले दृढ संकल्प व्यक्त गरेका छन् । मंगलबार तुलसीपुरमा आयोजित ‘बालमैत्री स्थानीय शासनका लागि सूचकहरूको अवस्था, योजना निर्माण र स्थिति पत्र प्रस्तुतीकरण’ कार्यक्रममा सहभागीहरूले अपूरा सूचकहरू पूरा गर्न पहल गर्ने र समस्याको समाधान खोज्न सामूहिक हस्ताक्षरसहित प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरलाई बालमैत्री पालिका बनाउन उपमहानगर पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा बालमैत्री विज्ञ दुर्गालाल केसीले कार्यपत्र प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ सूचकहरू पूरा गर्नुपर्ने भएपनि हाल २६ वटा सूचक मात्र पूरा भएकोे बताउँदै बाँकी २५ सूचक पूरा गर्न बाँकी रहेको बताउनुभयो ।
प्रतिवेदनले बालबालिकाको जन्मदेखि उनीहरूको अधिकार, सहभागिता, शिक्षा, स्वास्थ्यलगायतका पक्षमा सुधार आवश्यक रहेको औंल्याएको छ । टोल विकास संस्थाहरूबाट समस्या पहिचान र समाधानको काम थाल्नुपर्ने सुझाव दिदै विज्ञ केसीले स्थानीय तह, विषयगत शाखा, जनप्रतिनिधि र टोलस्तरबाट संयुक्त प्रयास भएमा मात्र बालमैत्री पालिका घोषणा सम्भव हुने बताउनुभयो ।
प्रतिवेदनका मुख्य तथ्य
बाल बचाउस् १४ मध्ये ३ सूचक मात्र पूरा।
बाल संरक्षणस् १० मध्ये ७ सूचक पूरा।
बाल विकासस् ६ मध्ये ५ सूचक पूरा।
बाल सहभागितास् ६ मध्ये ३ सूचक पूरा।
संस्थागत विकासस् १५ मध्ये ८ सूचक पूरा।
दशकौंदेखिको प्रयास
बालअधिकारकर्मी नवराज लामिछानेले तुलसीपुरलाई बालमैत्री बनाउन दशकौ देखि विभिन्न कार्य भइरहेको र ती प्रयासले सूचकहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, शिक्षा शाखा प्रमुख प्रखुद चक्र भण्डारी, वडा नं। ६ का अध्यक्ष दुजमान भण्डारी र वडा नं। ३ का अध्यक्ष विजय विकले बालमैत्री लक्ष्यप्रति आ–आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजना र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।