तुलसीपुर, ३१ भदौ । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको तुलसीपुर उपमहानगरपालिकाले स्थगित सेवाहरू पुनः सञ्चालन गरेको छ। आन्दोलनका कारण भदौ २४ गतेदेखि अवरुद्ध भएका सेवा भदौ ३१ गतेदेखि उपलब्ध स्रोत साधनअनुसार नियमित रुपमा सञ्चालन गर्न थालिएको हो।

नगर प्रमुख टिकाराम खड्काले आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालय र वडास्तरीय संरचनामा ठूलो क्षति पुगे पनि नागरिकलाई असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुचारु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले निर्माण गरेको तुलसी ट्रेड टावरमा आगलागी नभए पनि ढुङ्गामुढा र तोडफोडका कारण भवन प्रयोग अयोग्य भएको छ।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, नागरिकता सिफारिसलगायत अत्यावश्यक सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले अन्य नियमित सेवा पनि स्रोत साधनअनुसार विस्तार हुँदै जाने उल्लेख गर्नुभयो।

आन्दोलनका क्रममा विशेषगरी वडा ६ र १६ मा तोडफोड तथा वडा ८ र १८ मा आगजनी भएको थियो। यसबाहेक मालपोत, आन्तरिक राजस्व, इलाका प्रशासन, कारागार, यातायात व्यवस्था, उच्च अदालत, सिँचाइ डिभिजन, भू–जलाधार संरक्षणलगायतका कार्यालयहरूमा समेत क्षति पुगेको छ।
यसैबीच, उपमहानगरपालिकाले हिजो सर्वपक्षीय छलफल आयोजना गरी सेवाप्रवाहलाई निरन्तरता दिने तयारी र कार्यालय सञ्चालनको वैकल्पिक उपायबारे समेत सुझाव संकलन गरेको छ। वडाध्यक्ष र सचिवहरूलाई उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकलाई सेवा दिन निर्देशन दिइएको छ।









