तुलसीपुर, १३ बैशाख । तेह्र बुँदे घोषणापत्र जारी गर्दै ‘खानेपानी आयोजना सञ्चालन, व्यवस्थापन तथा गुणस्तर’ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी दाङको तुलसीपुरमा सम्पन्न भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यशाला गोष्ठीले नेपालको खानेपानी क्षेत्रको भविष्यलाई निर्देशित गर्ने १३ बुँदे दाङ घोषणापत्र जारी गरेको हो ।
जस अन्तर्गत खानेपानी संस्था तथा आयोजनाहरूको विवरण अद्यावधिक गरी पारदर्शिता कायम गर्ने, मिटर प्रणालीसहितको पूर्ण पाइप प्रणाली र गुणस्तरीय पानी वितरण सुनिश्चित गर्ने, मौलिक हकको प्रत्याभूति गर्न करमुक्त आयोजनाको माग र सरकारी सहयोगमा प्रविधि मैत्री परियोजनाको निर्माण गने, शुद्ध पानीको जनचेतना अभिवृद्धि र आवश्यक स्थानमा पानी प्रशोधन केन्द्रको निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी नदी उत्खनन रोक्न र मुहान संरक्षणका लागि वृक्षारोपण र वातावरणीय सन्तुलन कायम गर्ने पहल गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दिगो समाधान र जलवायु न्यायका लागि अपिल गर्ने, साना आयोजना मर्जर गरेर व्यवस्थापनमा दक्षता ल्याउने रणनीति बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रलाई “जनताको पानी, सरकारको लगानी” भन्ने नाराको व्यवहारिक कार्यान्वयनतर्फको महत्वपूर्ण पाइला मानिएको छ । शुक्रबार र शनिबार संचालन भएको गोष्ठीमा संघीय तथा प्रदेश सरकारका प्रतिनिधि, विभिन्न उपभोक्ता संस्थाहरू, स्थानीय तहका प्रतिनिधिहरू, प्राविधिक विज्ञहरू र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो ।