काठमाडौँ । रोल्पाको एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै बुधबार विज्ञप्ति जारी गरेका छन् । थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले असार २४ गतेदेखि आजसम्म कर्मचारीहरुसँग सम्पर्क हुन नसकेको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।
उनले विज्ञप्तिमा उल्लेख गरेअनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अन्य कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका हुन् ।
उनका अनुसार गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले असार २३ गते राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए ।
तर, त्यहाँ गएका उनीहरूको असार २४ गते बिहान ७ बजेदेखि हालसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको भन्दै कसैसँग जानकारी भए पालिकामा खबर गरिदिन विज्ञप्तिमा अनुरोध गरिएको छ । उनीहरू सम्पर्कविहीन हुँदा कार्यालयको कामकाजमा समेत समस्या भएको विज्ञप्तिमा उल्लेख छ।









