काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन् ।
गृहमन्त्री स्तरीय निर्णयबाट भएको सरुवामा गणेशबहादुर ठाडा मगरलाई नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरबाट हल्चोकस्थित प्रधान कार्यालयको कार्य विभागमा ल्याइएको छ । नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीका कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागको जिम्मा लगाइएको छ । कार्य विभागमा पहिले पुरुषोत्तम थापा र मानवस्रोतमा दीपेन्द्र शाह थिए ।
बिहीबार भएको सरुवामा नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका शम्भु सुवेदीलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा ल्याइएको छ । त्यहाँ पहिले अञ्जनीकुमार पोखरेल थिए । नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका कालीदास धौबजीलाई महानिरीक्षक राजु अर्यालको सचिवालयमा र त्यहाँ कार्यरत कुमार न्यौपानेलाई यसअघि शम्भु सुवेदी रहेको नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी पुर्याइएको छ ।
त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा रहेका प्रदीपकुमार पाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली पुगेका छन् । त्यहाँ दिपक अधिकारी थिए । स्टाफ कलेजका अञ्जनीकुमार पोखरेललाई पहिले ठाडामगर रहेको नम्बर ३, गढीमाई बाहिनी मुख्यालय मकवानपुर लगिएको छ । मानवस्रोत विभागका दीपेन्द्र शाह नम्बर ४, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की पुगेका छन् । त्यहाँका नेम्वाङ शाहको ठाउँमा आएका हुन्।
पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा खटाइएको छ । पहिले त्यहाँ कृष्ण ढकाल थिए भने थापा मुख्यालयको कार्य विभागमा थिए । ढकाललाई सिंहदरबारबाट नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगिएको छ । त्यहाँ पहिले कालीदास धौबजी थिए ।
नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका दिपक अधिकारी पनि मानव स्रोत विभागमै पुगेका छन् । उनी दीपेन्द्र कुँवरको ठाउँमा गएको बताइन्छ । कुँवरलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही लगिएको छ । त्यहाँ प्रदीपकुमार पाल थिए ।