दाङमा बिरामीको नाममा ठगी धन्दा

Spread the love

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै सहयोग उठाउँदै हिडेका हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो

सन्तोष खनाल,आषाढ ३१,मंगलबार,

घोराही । शुक्रबार दुई किशोरी घोराही बजारमा सहयोग संकलन गर्दै हिंडेका थिए । ‘एक कदम मानवताको लागि’ लेखिएको सहयोग रसिदमा ‘युवराज भोलन बचाऊ अभियान समिति’ पनि लेखिएको थियो । पुरानो मकवानपुर हाल ललितपुरका युवराज भोलानका नाममा सहयोग उठाइरहेका ती युवतीहरुले न भोलानलाई देखेका थिए न त चिनेका नै । उनी सिभिल अस्पताल मीनभवनमा उपचाररत भएको कुरा सिकाइएको थियो । त्यही अनुसार उनीहरु सहयोग उठाइरहेका थिए । उनीहरुले नै तुलसीपुरको जब सेन्टरबाट जागिर पाएर मासिक १८ हजार रुपैयाँमा सहयोग उठाउनका लागि पठाएको बताएका पनि थिए । दैनिक जसो सहयोग रसिद काटेर पैसा उठाउन दाङ र बाँकेमा मात्रै उनीहरु जस्ता १२ जनालाई १८ हजार तलव दिएर राखेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानले गिरोह नै गैरकानुनीरुपमा बिरामीको नाममा रकम उठाइरहेको देखिएको प्रहरीले जनाएको छ । दाङ र बाँकेमा जागिर नै लगाएर रकम उठाउन पठाएको खुल्न आए पनि अन्य जिल्लामा पनि सहयोग उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै सहयोग उठाउँदै हिडेका हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनलाई ललितपुरका ३७ वर्षीय युवराज भोलानका नाममा रकम उठाइरहेको अवस्थामा पक्राउ गरिएको हो । भोलानको नाममा उनीहरूले ‘युवराज भोलान बचाऊ अभियान समिति’ नै बनाएर रकम उठाइरहेका थिए । ‘भोलानलाई म सघाउँछु भनेर पूर्वतिरको कहिले ईटहरी भन्ने कहिले झापा घर भन्ने सुवास विकले सघाउँछु भनेर अनुमति मागेको रहेछ पछि युवराज भोलान बचाउ अभियान भनेर रसिद छापेरै रकम उठाउन शुरु गरेको बुझियो’– तिमिल्सिनाले भन्नुभयो– ‘अनुमति कतै नलिकन रसिद प्याड छापेर विभिन्न जिल्लामा पैसा उठाउन मान्छे पठाए भन्ने सूचना छ । बाँके र दाङमा उठाउने गरेका ईश्वर अधिकारी पक्राउ परेका छन् ।’

उहाँले उनीहरुले सहयोग उठाएर पीडितलाई नदिएको बताउनुभयो । ‘मैले ४० हजार झण्डै २० दिन अगाडि बुझाएको छु भन्छन् तर घाइतेले पाएको छैन भन्छन् । यिनीहरुले एक महिनाको अवधिमा धेरै जिल्लाबाट धेरै पैसा संकलन गरेको भन्ने बुझिन्छ । तर पीडितले पैसा पाएका छैनन् । अनुसन्धान भइरहेको छ ।’ पुरानो मकवानपुर हाल ललितपुरका युवराज भोलान सिभिल अस्पताल मीनभवनमा उपचाररत छन् । प्रहरीका अनुसार उनलाई बोन म्यारो क्यान्सर भएको छ । यता पीडित भोलानले कुनै रकम नपाएको युगबोधसँगको कुराकानीमा बताउनुभयो । ‘एक रुपैयाँ पनि पाएको छैन हजुर कुनै सहयोग पाएको छैन’– उहाँले भन्नुभयो– ‘हस्पिटनमा छु, विरामी छु । पैसा उठाउनेलाई दाङतिर समातेको छ रे मैले त पैसा कत्ति पनि पाएको छैन ।’

प्रहरी प्रमुख तिमिल्सिनाले स्वास विक भन्ने मान्छेले पीडित भोलानसँग सहयोग उठाइदिने भन्दै सिभिल अस्पताल पुगेका थिए । ‘सुवास भन्ने मान्छेले राष्ट्रिय स्वंसेवक संस्था छ भनेर भन्छन् तर यो कहाँ दर्ता छ यसको वेवसाइट केही भेटिदैन, संस्था नै भए पनि यसरी चन्दा उठाउन पाउने हैन’– उहाँले भन्नुभयो– ‘ईश्वर अधिकारीले सुवास विकको सरसल्लाहमा अन्य मान्छेलाई जागिर नै दिएर मासिक १८ हजार तलव दिने गरी १२ जना मान्छेलाई पैसा उठाउन लगाएको खुलेको छ थप अनुसन्धान हुँदैछ ।’

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *