दाङ सहित सात जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

Spread the love

दाङ सहित सात जिल्लामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरमा बाढीको जोखिम उच्च रहेको छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे, र मकवानपुरका स–साना खोला तथा नदीहरूमा पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा, बर्दियाको मानपुरलगायत क्षेत्रहरूमा ठूलो वर्षा मापन भएको छ भने बबई, पश्चिम राप्ती, डुडुवा लगायत खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । पश्चिम राप्ती नदीको कुशुम र राप्तीसोनारी जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेकोले आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । बबई नदीको चेपाङ केन्द्रमा पनि सतर्कता तह ५ दशमलव ५ मिटर पुगेको छ । जोखिमयुक्त तटीय र होचा भू–भागमा डुबानको उच्च सम्भावना रहेकोले दिउँसो र भोलि बिहानसम्म विशेष सतर्कता अपनाउन बाढी महाशाखाले अनुरोध गरेको छ । गंगदी, जलकुन्डी, कुशुम, सिक्टा र मानपुर केन्द्रहरूमा पछिल्लो तीन घण्टामा मध्यमदेखि ठूलो वर्षा मापन भएको र थप वर्षा हुन सक्ने भएकाले खोला तथा नदीहरूको बहाव झनै बढ्न सक्ने अनुमान छ ।

यस्तै सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाञ्चोक, सिन्धुली, उदयपुुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँचीमा बाढीको मध्यम जोखिम छ ।
जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेलधुरा, डोटी, बैतडी, दार्चुलामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ईलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, मोरङ, सुनसुरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरामा बाढीको सम्भावना रहेको छ । यी जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । यस्तै कोशी र मधेश प्रदेशका केही ठाउँहरु साथै बाँकी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *