नेपालले बिक्री गर्छ दैनिक १२ करोड रूपैयाँको बिजुली

Spread the love

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक औसत ७०० मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ । प्राधिकरणले मध्यकालीन, सम्झौता र ऊर्जा खरिद बिक्री बजार आईईएक्समा बिजुली खरिद बिक्री गरिरहेको छ ।

प्राधिकरणले २०७८ कात्तिक १६ गते भारतीय बजारमा बिक्रीको अनुमति पाएको थियो । उक्त वर्षपछि प्राधिकरणको नाफामा निरन्तर वृद्धि हुँदै गएको छ ।

हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड, रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले द्विपक्षीय सम्झौताअन्तर्गत ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत दुई सय मेगावाट विद्युत् भारतलाई निर्यात भइरहेको छ ।

त्यस्तै, भारतका हरियाणा र बिहारमा पनि थप १२५ मेगावाट विद्युत् आपूर्ति भइरहेको प्रवक्ता राजन ढकालले जानकारी दिए । यो मिडियम टर्म सम्झौता अर्थात् मध्यम अवधिका लागि २४ सै घण्टा हुने निर्यात हो । बिहीबार मात्रै प्राधिकरणले भारतीय बजारबाट ११ करोड ५४ लाख रुपैयाँ कमाइ गरेको ढकालले जनाए ।

खुला बजारमा प्रतिस्पर्धात्मक मूल्यमा ऊर्जा बेच्ने क्षमताल नेपालको आयमा उल्लेखनीय योगदान पुर्‍याएको छ । गतवर्ष नेपालले भारतलाई १७ अर्ब ७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो । भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो ।

यसवर्ष प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको निर्यातको लक्ष्य राखेको थियो । तामाकोसीलगायतका आयोजनामा भएको क्षतिका कारण १८ अर्ब रुपैयाँ बराबरको निर्यात हुने ढकाल बताउँछन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *