तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसी भन्छन् ‘टरिगाउँ विमानस्थलसहित अन्य पाँचवटा एयरपोर्टको नाम जोडेर स्तरोन्नति गरिने छ भन्नु यहाँका जनतालाई आँखामा छारो हाल्नु मात्रै हो’, पाँचवटा एयरपोर्टलाई भनेर यसरी त चालु आर्थिक वर्ष पनि बजेट छुट्याइएको थियो तर काम एक पैसाको पनि भएन
खेमराज रिजाल
दाङ, १७ जेठ । अघिल्लो महिना तुलसीपुर उद्योग वाणिज्य संघको ३०औँ साधारण सभामा सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा। किशोर खत्रीले शुभकामना मन्तव्यमा भनेका थिए, ‘टरिगाउँ एयरपोर्ट पनि बन्दैन, घोराही–तुलसीपुर चारलेन पनि बन्दैन ।’ बिहिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पढिरहँदा यी दुवैको अर्थपूर्ण सम्बोधन भएन । बजेट वक्तव्य सुनिसकेपछि सारा दाङबासी निराश छन् ।
‘कतै पनि बजेट आएन दाङलाई, न चारलेन न एयरपोर्ट’, तुलसीपुरको पार्क क्याफेमा मोबाइलबाट बजेट भाषण सुन्दै गरेका शारीरिक अपाङ्गता भएका हुमाकान्त कँडेलले निराशा व्यक्त गरे । हुमाकान्त जस्तै धेरै उद्योगी व्यवसायी निराश छन् । स्थानीय तहका जनप्रतिनिधि निराश छन् अनि प्रदेश सांसद पनि बजेट वक्तव्यमा आशावादी देखिँदैनन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी सञ्चालन भइसकेको दाङमा एउटा मात्रै पनि हवाई सेवाको विकल्प नखोजिनु दुर्भाग्यपूर्ण भएको एकजना प्रदेश सभा सदस्यले बताए ।
जस–कसले लिने होड अहिले विकासे आयोजनामा देखिएको छ । विकासमा एकात्मक भावना यहाँका राजनेतामा देखिन सकेको छैन । एकजना प्रदेश सांसदका अनुसार खासमा दाङमा राष्ट्रिय गौरवका आयोजना नपर्नुमा एमाले दोस्रो वरीयताका नेता शंकर पोख्रेल र अर्थमन्त्री विष्णु पौडेलबिचको टकराव भएको ती सांसदले बताए ।
दाङमा पोख्रेललाई चुक्ता बनाउने अर्थमन्त्रीको खेल भएको राजनीतिक दीर्घामा चर्चा हुन थालेको छ । त्यसैले त वर्षौँदेखि माग हँुदै आएको तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न बजेट आएन । चारलेन सडकलाई बजेटले छोएन । भलै सांसद्ले भने त्यसलाई रातो किताबमार्फत् बजेट सुनिश्चितता हुने अभिव्यक्ति दिएर चित्त बुझाउने प्रयन्त गरिरहेका छन् ।
घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका विषयमा सांसदले यति धेरै विश्वस्त बनाए कि यो परियोजना चालु आर्थिक वर्षमै काम सुरु हुनेछ । कम्तिमा पौनेचार अर्ब रुपैयाँ बजेट अर्थमन्त्रालयले सुनिश्चितता गरिसकेको छ । मदन भण्डारी सडक मार्ग परियोजनामा रहेको पैसाले काम सुरु हुनेछ ।

जेठ १५ गते अघि नै उक्त सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया सुरु भएर काम सुरु हुनेछ । आदि आश्वासन नेताले दिएका थिए तर अन्ततः मदन भण्डारी सडक परियोजनामै पैसा नभएपछि आगामी आर्थिक वर्ष मात्र ठेक्का सम्झौता हुने परियोजना कार्यालयले यस अघि नै स्पष्ट पारिसकेको थियो । आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमा दाङमा ग्वार खोला हाइड्यामको काम अघि बढाइने, वडकापथ प्रगन्न सिँचाइ आयोजनालाई निरन्तरता, बृहत दाङ सिँचाइ परियोजनालाई निरन्तरता, तुलसीपुरको टरिगाउँ एयरपोर्टलगायतका एयरपोर्टको स्तरोन्नति गरिने, नौमुरे सिँचाइ आयोजना, राप्ती राजमार्गको स्तरोन्नति तथा तुलसीपुरमा औद्योगिक ग्राम स्थापनालाई बजेट विनियोजन गर्ने भनी शब्दमा सम्बोधन गरिएको छ तर अङ्कमा भने कुनै पनि शीर्षकमा बजेट विनियोजन भएको छैन ।
यी त बहुवर्षीय योजनाका नियमित प्रक्रिया मात्रै हुन् तर दङ्गालीले वर्षौँदेखि माग गर्दै आएको स्तरीय हवाई सेवा ठेक्का भएर काम सुरु भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर चारलेनलाई बजेटले सम्बोधन नगर्दा निराशा हुनु स्वाभाविकै हो । चारलेनमा किन बजेट राखिएन
सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्ट भन्छन्, ‘यो त सडक विभाग अन्तर्गतको मदन भण्डारी सडक मार्ग परियोजनामार्फत् आउने हो, रातो किताब भाग २ आएपछि मात्र बजेटको अङ्क खुल्छ ।’ अहिले बजेटमा आएको टरिगाउँ विमानस्थलको स्तरोन्नतिको बजेट अघिल्लो बजेट वक्तव्यमा पनि आएको थियो तर एक रुपैयाँको पनि काम हुन सकेन ।
ग्वारखोला हाइड्याम विगत दशकदेखि बजेट वक्तव्यमा बोलिँदै आएको शब्दावली हो तर कार्यप्रगति एक रुपैयाँको पनि हुन सकेको छैन । नौमुरे सिँचाइको कुरा मात्रै आउँछ, बजेट कार्यान्वयन भने देखिएको छैन । यो प्रवृत्तिले दाङमा गौरवका आयोजना कार्यान्वयन हुन्छन् भन्ने अवस्था देखिएको छैन ।
‘टरिगाउँ विमानस्थलसहित अन्य पाँचवटा एयरपोर्टको नाम जोडेर स्तरोन्नति गरिने छ भन्नु यहाँका जनतालाई आँखामा छारो हाल्नु मात्रै हो’, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसी भन्छन् । पाँचवटा एयरपोर्टलाई भनेर यसरी त चालु आर्थिक वर्ष पनि बजेट छुट्याइएको थियो तर काम एक पैसाको पनि भएन ।

चालु आर्थिक वर्ष कम्तिमा नयाँ डिपिआरको काम सुरु भएको भए आशावादी हुन सकिन्थ्यो तर चालु आर्थिक वर्षमा टरिगाउँ विमानस्थलसमेतको नाम जोडेर विनियोजन गरिएको बजेट कहाँ खर्च भयो रु यो विषयमा नागरिक उड्ययन प्राधिकरणले कुनै जानकारी दिएको छैन ।यही आर्थिक वर्ष यो एयरपोर्टका विषयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्तरोन्नतिबारे बोले । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तुलसीपुरमै यो विमानस्थलको स्तरोन्नतिबारे बोले ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दाङमै आएर टरिगाउँ विमानस्थल स्तरोन्नति हुन्छ भनेर एमाले दाङले आयोजना गरेको सभामा बोले । सङ्घीय सांसद् दीपक गिरीले संसदमै समय मागेर टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि अनुमानित बजेटसहित संसद्मा माग गरे तर बजेट आउने बेलामा भने ‘हात्ती आयो, हात्ती फुस्सा‘।’