‘हरेक मन्त्रालयका लागि बन्दै गरेका ९६ कोठासहितका भवन उपयोगमा आउने अवस्था देखिन्न, अहिले प्रयोग भएको हिसाबले एउटा भवनले तीनवटा मन्त्रालयलाई पुग्छ
हरेक वर्ष घाटाको बजेट ल्याउने लुम्बिनी प्रदेश सरकारले आवश्यकताको अध्ययन र प्रदेशको सामथ्र्य ख्याल नगरी अनावश्यक ठूला भवनमा बजेट खर्च गरेको भन्दै सरकारको आलोचना भएको छ । अहिले बनेका एउटा भवनमा तीनवटा मन्त्रालयका सबै कार्यालय अटाउन सक्ने प्रदेश सरकारकै कर्मचारीहरू बताउँछन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको शुरूवातमा तत्कालीन मुख्यमन्त्री लीला गिरीले तीन वर्षभित्रमा सक्ने गरी १८ पुस २०७९ मा भवन निर्माणको शिलान्यास गरेका थिए ।
संघीय अनुदान हरेक वर्ष घटिरहेको अवस्थामा अनुत्पादक र भड्किलो खर्च भएको भन्दै कतिपय रुष्ट छन् । एक स्थानीयले भने, ‘एउटा मन्त्रालयको भवन निर्माण खर्च ४० करोड पर्न जान्छ । संघीय सरकारको मन्त्रालयका भवन समेत यति ठूला र सुविधासम्पन्न छैनन् ।’
मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुगिसकेको सन्दर्भमा प्रमुख दलका शीर्ष तहका कतिपय नेताले नै प्रदेश संरचना सानो आकारको बनाउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
अरु ६ प्रदेशलाई उछिन्दै लुम्बिनीले एउटै भवनमा तीन वटा मन्त्रालय अट्ने ठूला भवन बनाएर राज्य कोष अनुत्पादक काममा खर्च गरेको प्रदेश सभा सदस्य तारा थापा बताउँछिन् ।
‘हरेक मन्त्रालयका लागि बन्दै गरेका ९६ कोठासहितका भवन उपयोगमा आउने अवस्था देखिन्न, अहिले प्रयोग भएको हिसाबले एउटा भवनले तीनवटा मन्त्रालयलाई पुग्छ’ प्रदेश सभा सदस्य थापा भन्छिन्, ‘प्रदेश संरचना भद्दा र बोझिलो भयो भनेर जनस्तरबाटै प्रश्न उठेको छ, प्रदेश रहने हो कि नरहने हो भन्ने बहस चलिरहेका बेला यति ठूला संरचना किन चाहियो रु’
सरकारले दूरदर्शी सोंच विना हतारमा आवश्यकता भन्दा धेरै ठूला भवन बनाएर राज्यको ठूलो बजेट अनुत्पादक काममा खर्च गर्नु गलत भएको थापाले बताइन् ।
‘अहिलेका मन्त्रालय २० वर्षलाई मन्त्री क्वाटर’
मन्त्रालयका लागि नयाँ भवन बनाउँदा ठूलो धनराशी खर्च भएपछि सरकारले मन्त्री क्वाटरका लागि नयाँ भवन बनाउने अवस्था छैन ।
बुटवलबाट मौरीघाटमा राजधानीका मन्त्रालयहरू सार्दा साविक राप्ती प्राविधिक शिक्षालयका पुराना भवनहरू मर्मत र तला थप्नमा १६ करोड रूपैयाँ खर्च भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख छविराज पोखरेलले बताए ।
अब ती भवनहरूलाई मन्त्री क्वाटर बनाइने उनले बताए । ‘मन्त्रालयहरू नयाँ भवनमा सरेपछि कम्तीमा २० वर्षलाई मन्त्री क्वाटरका लागि नयाँ भवन बनाउन सकिन्न, अहिले मन्त्रालय रहेका भवनमै मन्त्रीहरू बस्नुहुन्छ’ पोखरेलले भने ।