काठमाडौं, १२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले बजेटको विषयमा उपप्रधान एवम् सहकारी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेको र पार्टीलाई घाटा भयो भनेर सभापति शेरबहादुर देउवाले आफ्नो राजीनामा लिखित रुपमा निर्देशन दिएर मागे दुई मिनेटमा नै राजीनामा दिने बताएका छन् ।
उनले भने,‘मलाई पदको लोभ छैन । अहिले नेपाली कांग्रेसबाट चिठ्ठी पठा भन्नुहोस, तँ माननीयबाट हट भन्नुहोस चिठ्ठी पाएको दुई मिनेटभित्र राजीनामा पार्टी कार्यालयमा पुर्याउँछु । अहिलेको बजेटमा प्रकाशमानको बारेमा नराम्रो कुरा गरिस, पार्टीलाई घाटा पर्ने भयो भनेर शेरबहादुर देउवा दाइले मलाई राजीनामा देउ भनेर चिठ्ठी पठाउनुभयो भने दुई मिनेटभित्र राजीनामा बुझाउँछु ।
उनले आफूले सरकारलाई सचेत बनाएको बताएका छन् । उनले आफूले सहकारी विकासमन्त्री प्रकाशमान सिंहको विरोध त्यत्तिकै नगरेको भन्दै सिंहले अरु जिल्लामा बजेट नदिएर आफ्नो जिल्लामा बढि बजेट खन्याएको आरोप लगाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले रामेछापको लागि बजेट नदिएको भनेर विरोध नगरेको स्पष्ट पारे ।
अर्थमन्त्री विष्णु पौडेल र सहरी विकासमन्त्री प्रकाशमान सिंहले यो देशको सम्पत्ति बाउको जस्तै गरेको भन्दै उनले आलोचना गरे । उनले आफूले संसद्मा उपप्रधानमन्त्रीद्धय सिंह र पौडेललाई त्यत्तिकै ननंग्याएको स्पष्ट पारे । अर्थमन्त्री पौडेलको जिल्लामा ६ अर्ब ५० करोड बजेट गएको भन्दै उनले आलोचना गरे । उनले आफूले मन्त्रीबाट हटेको कारण बजेटको विरोध नगरेको जिकिर गरे । उनले आफूलाई आगामी निर्वाचनमा टिकट नदिए पनि केही फरक नपर्ने र पार्टी छोडेर नजाने स्पष्ट पारे ।