हेटौंडा, मकवानपुर । नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने चार जना मकवानपुर प्रहरीको फन्दामा परेका छन्। प्रहरीले हेटौंडा उपमहानगरपालिका–११, सुकुम्वासी टोलको त्रिवेणीचोकस्थित एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुरगढी–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोटको किस्पाङ–१, भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ छन्। उनीहरूले भाडाको कोठामा बसेर ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ।
प्रहरीले कोठाबाट पीएएमपी लेखिएको पहेँलो धातु ५० थान बरामद गरेको छ। तीमध्ये एक थान १० ग्रामको मात्र सक्कली सुन भएको र बाँकी ४९ थान नक्कली भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
सक्कली सुनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ। नक्कली धातुको ठगीमा संलग्न चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ठगी उद्योग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








