५ लाख असुली गरेको आरोपमा घुमुवा प्रहरीसहित पाँच जना पक्राउ

Spread the love

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना घुमुवा प्रहरीसहित पाँच जनालाई व्यापारीसँग पाँच लाख रुपैयाँ जबर्जस्ती असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना प्रहरी सहायक हवलदार, एक जना सशस्त्र प्रहरीका जवान, एक जना व्यापारी र एक जना आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कूर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र अभियान्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।

कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्क नजिकै ‘थ्रिस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उजुरी दर्ता भएपछि प्रहरी सहायक हवलदार खान, कुर्मी, भण्डारी र रिजाललाई जेठ २८ गते र सशस्त्र जवान चौधरीलाई २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिनुभयो। प्रहरी घुमुवा टोलीले जेठ २१ गते मोबाइल व्यवसायीसंग रकम असुल गरेका थिए ।

उनका अनुसार सादा पोशाकमा आएका ती व्यक्तिहरूले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागुऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए । घटनामा संलग्न प्रहरी सहायक हवलदारहरू डीआईजी राजेन्द्रप्रसाद भट्टले घुमुवा रुपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति भएको खुलेको छ । यद्यपि उनीहरूको दरबन्दी लागूऔषध नियन्त्रण ब्युरोमा रहेको र डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएको जनाइएको छ । सशस्त्र प्रहरी जवान चौधरी भने चौलिकास्थित सशस्त्र प्रहरी बल नं। ३० गणबाट खटिएका घुमुवा हुन । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट ९यूपी ५० एए ९८८५० को कारमा आएका ती व्यक्तिहरूको गतिविधि सीसीटीभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सुर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध “आपराधिक लाभ“ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *